'पूर्वी युक्रेनमा जनमतसंग्रह गराइने'

  • 8 मे 2014
नमुना मतपत्र
Image caption रुस समर्थक कार्यकर्ताहरुले विवादित जनमतसंग्रहकालागि सबै तयारी पुरा भैसकेको जनाएका छन्

पूर्वी युक्रेनस्थित रुस समर्थक कार्यकर्ताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहलाई बेवास्ता गर्दै आउँदो आइतबार स्वायत्ततासंबन्धी जनमतसंग्रह गराइने जनाएका छन्।

बुधबार राष्ट्रपति पुटिनले युक्रेनसंग वार्ताकालागि उपयुक्त वातावरण बनाउन प्रस्तावित जनमतसंग्रह पछि सार्न आह्वान गरेका थिए।

युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले प्रस्तावित जनमतसंग्रहलाई गैरकानुनी भन्दै राष्ट्रपति पुटिनको आह्वान देखावटी भएको बताए।

सँकट

पूर्वी युक्रेनका रुस समर्थक कार्यकर्ताहरुले आउँदो आइतबार गर्ने भनिएको जनमतसंग्रह पछि नसार्ने जनाए पछि त्यहाँ जारी सँकट अरु गहिरिएको जस्तो देखिएको छ।

विवादास्पद जनमतसंग्रहकालागि लाखौं मतपत्रहरु छापिएका छन्।

आफुलाई केन्द्रिय निर्वाचन आयोगको प्रमुख बताउने डोनेस्कस्थित रुस समर्थक एकजना कार्यकर्ता रोमन लियागिनले भने, “हामीले मानिसहरुसामु एउटा साधारण प्रश्न राखेका छौं, उनीहरु स्वतन्त्र राज्य घोषणाको पक्षमा छन् वा छैनन्। यहाँ कुनै समस्या छैन र हामी पुरै तयार छौं।”

डोनस्क तथा लुहान्स्कका पृथकतावादी नेताहरुले स्थानीय जनपरिषद सामु प्रस्ताव राखेपछि जनमतसंग्रह पर नसार्ने निर्णय गरिएको थियो।

मस्कोले, उसकै शब्दमा, कियभको अप्रजातान्त्रिक सरकारले चाल्नसक्ने कदम विरुद्ध युक्रेनका रुसी भाषी जनताको हित संरक्षण गर्ने वाचा गरेको छ।

उता युक्रेनका अधिकारीहरुले रुस समर्थक विद्रोहीहरुले गरिरहेको थप स्वायत्तताको मागलाई अस्वीकार गरीदिएका छन्।

युरोपेली संघको विदेश नीति प्रमुखका एकजना प्रवक्ताले भने, “त्यस्तो मतदानको कुनै प्रजातान्त्रिक वैधता हुनेछैन र यसले स्थितिलाई अरु खराब तुल्याउने छ।”

जनमतसंग्रह

युक्रेनको अन्तरिम सरकार तथा पश्चिमा मुलुकहरुको कडा विरोधका बावजुद रुससंग सीमा जोडिएको युक्रेनकै क्राइमिया क्षेत्रमा गएको मार्च महिनामा जनमतसंग्रह गराइएको थियो।

उक्त विवादित जनमतसंग्रहमा अत्यधिक मतदाताहरुले युक्रेनबाट अलग हुनेपक्षमा मतदान गरेको बताइएको थियो।

त्यसयता क्राइमियालाई रुसले आफ्नो भूभागमा विलय गराइसकेको छ।

पूर्वी युक्रेनका थप भूभागहरुलाई स्वतन्त्र बन्न वा रुसमा विलय हुनदिनबाट रोक्न युक्रेनी सैन्यले स्लोभियान्स्कमा रुस समर्थित पृथकतावादीहरु विरुद्ध एउटा सैन्य कारवाही गरिरहेका छन्।

युक्रेनको अन्तरिम सरकारले रुस समर्थित उग्रवादीहरु वास्तवमा स्थानीय जनता नभएर रुसले नै छद्मभेषमा पठाएका गुप्तचर तथा सैनिकहरु भएको आरोप लगाउने गरेको छ।

तर रुसले ती आरोपहरुको खण्डन गर्दै आएको छ।