पुटिनद्वारा क्राइमियाको भ्रमण

  • 9 मे 2014
पुटिन तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा आयोजित वार्षिक सैन्य परेडलाई पनि संबोधन गरेका थिए

रुसले युक्रेनको क्राइमियालाई आफुमा विलय गराएयता राष्ट्रपति पुटिनले पहिलोपटक त्यसक्षेत्रको अत्यन्तै सांकेतिक भ्रमण गरेका छन्।

उनले सेवास्तोपोल बन्दरगाहमा एउटा डुँगामा उभिएर कृष्ण सागर क्षेत्रमा रहेका रुसी नौसेनाका सदस्यहरुलाई संबोधन गरेका थिए।

पुटिनले भने, "म के कुरामा विश्वस्त छु भने सन् २०१४ सेवास्तोपोल र हाम्रो सम्पूर्ण देशको इतिहासमा एउटा त्यस्तो वर्षको रुपमा संझना गरिनेछ, जुनवर्ष यहाँका जनताले रुससंग एकवद्ध हुने दरिलो विश्वास व्यक्त गरेका थिए।"

युक्रेनको विदेश मन्त्रालयले रुसले जानीजानी सँकट चर्काउन खोजीरहेको छ भन्दै पुटिनको क्राइमिया भ्रमणको निन्दा गरेको छ।

संबोधन

यसअघि शुक्रबार नै पुटिनले दोश्रो विश्वयुद्धमा नाजी जर्मनी विरुद्ध रुसको जीतको संझनामा मस्कोमा आयोजित वार्षिक सैन्य परेडलाई पनि संबोधन गरेका थिए।

मे ९ लाई रुसमा विजय दिवस भनिन्छ र यसलाई शक्ति प्रदर्शनको रुपमा पनि मनाइन्छ।

हजारौं रुसी सैन्य मस्कोको रेड स्क्वायरमा ट्याङ्क, रकेट लन्चर तथा युद्धक विमानहरु सहित सहभागी भएका थिए।

कैयौं सहभागीहरुले रुसको झण्डा फहराउँदै राष्ट्रवादी नाराहरु लगाएका थिए।

उक्त समारोहलाई संबोधन गर्दै राष्ट्रपति पुटिनले भने, "महान राष्ट्रवादी युद्ध समाप्त भएको उनन्सत्तरी वर्ष पुरा भएको छ तर ९ मे हाम्रोलागि मुख्य राष्ट्रिय चाड थियो र रहिरहनेछ। यो दिन राष्ट्रिय विजय, जनताको गर्व, दुख र अनन्त संझनाको दिन पनि हो। यो दिनले आफ्नो मातृभूमिप्रति कसरी वफादार हुने र उनको हित कसरी रक्षा गर्ने भन्ने स्मरण पनि गराउँछ।"

रुस र पश्चिमा मुलुकहरुबीच तनाव बढिरहेका बेला आफ्नो संबोधनमा पुटिनले युक्रेनको भने कुनै चर्चा गरेनन्।

जनमत संग्रह

गएको मार्च महिनामा एउटा विवादास्पद जनमत संग्रह पछि क्राइमिया रुसमा विलय गरिएको घोषणा गरिएपछि पुटिन उक्त क्षेत्रमा पहिलोपटक पुगेका हुन्।

उता युक्रेनमा चाहिं रुस समर्थक प्रदर्शनकारीहरुले हिंसा फैलाउन सक्ने आशँकाका बीच अन्तरिम अधिकारीहरुले मानिसहरुलाई सार्वजनिक समारोहमा भागलिनबाट दुरुत्साहित गरेका थिए।

सन् १९४१ को जुन महिनामा नाजी जर्मन सैन्यले तत्कालिन सोभियत संघमा हमला गरी झण्डै मस्कोसम्म पुगेका थिए।

वर्षौं चलेको भीषण युद्ध पछि रुसी सैन्यहरुले उनीहरुलाई बर्लिनसम्म धकेलीदिएका थिए।

उक्त युद्धमा आफ्ना सतासी लाख सैन्यसहित झण्डै दुई करोड छैसठ्ठी लाख जनताको ज्यान गएको रुसले अनुमान गरेको छ।

तत्कालिन सोभियतसंघको विघटन पछि चौबीस वर्ष अघिमात्र युक्रेन छुट्टै राष्ट्र बनेको थियो, तर क्राइमिया क्षेत्रभने सोभियत पालामै साठी वर्ष अघि युक्रेनको भूभागकोरुपमा स्थानान्तर गरिएको थियो।

अहिले क्राइमियालाई पुन: रुसमा विलय गराइएपछि रुसमा राष्ट्रवादी भावना निकै बढेर गएको ठानिन्छ।