कनकार्इ सफाइमा सर्वसाधारण

  • 10 मे 2014
Image caption बागमती जस्तै कनकाई नदी सरसफाइ र संरक्षण गर्ने प्रक्रियामा हजारौं सर्वसाधारण संलग्न भएका छन्

काठमाडौंमा एक वर्षदेखि निरन्तर चलिरहेको बागमती सरसफाई अभियानको सिको झापाले पनि गरेको छ।

कनकाई संरक्षण अभियानका लागि झापाका पाँच हजार सर्वसाधारणले दुइ हजारको दरले कुल एक करोड रुपैयाँ आर्थिक सहयोग दिएका छन्।

झापाबाट निर्वाचित १९ जना सभासदका साथमा सर्वसाधारणहरु कनकाई नदी तटबन्ध निर्माणका लागि शुक्रबार श्रमदानमा जुटेका थिए।

उत्साह

रुँदै वा मन खिन्न बनाएर मानिसको मृत्युमा अन्तिम संस्कार गर्न भेला हुने गरेका झापाका सर्वसाधारण शुक्रबार कनकाई नदी किनारमा निक्कै उत्साहित देखिन्थे।

स्वस्ति बाचन पछि १९ जना सभासदका साथमा सर्वसाधारण झापाका नदी किनारमा तटबन्ध निर्माणका लागि तार जालीमा ढुंगा भरेका थिए ।

काठमाण्डौमा बागमती सफाई अभियानबाट प्रेरणा पाएर पाँच हजार मानिसलाई प्रत्यक्ष सहभागी गराएर समर्पण नाम दिएर उक्त संरक्षण अभियान चलाइएको अभियानका संयोजक महेन्द्र गिरी बताउँछन् ।

गिरी भन्छन्, 'बागमती सर सफाई अभियानको सिको गर्दै हामी पनि यहाँ किन नगर्न भनेर 'समर्पण' कार्यक्रम ल्याएका हौं।'

सहयोगी हातहरु

पाँच हजार मानिसले दुइ हजार रुपैयाँका दरले दिएको पैसा एक करोडले कनकाई नदी सरसफाई, आर्यघाट, किरियापुत्री घर तथा शौचालय निर्माण गरिने गिरी बताउँछन्।

सहयोगी हातहरु अघि बढे धेरै थोक गर्न सकिन्छ भन्ने अभियानकर्मीहरुको भनाइ छ।

झापा क्षेत्र नं ५ बाट निर्वाचित सभासद केशवकुमार बुढाथोकी भन्छन्, 'यहाँ कोही पनि ठूलो सानो छैन । सबैले एक एक ढुंगा मात्र बोक्ने हो भने देश बन्छ ।'

सर्वसाधारणलाई कनकाइ संरक्षण अभियान मार्फत नदी संरक्षणका लागि धेरै काम गर्न सकिन्छ भन्ने लागेको छ ।

उक्त अभियानमा झापाका ६३ वटा संघसंस्थाहरुको संलग्नता छ।