दक्षिण सुडानमा शान्ति सम्झौता

  • 10 मे 2014
तस्वीर कपीराइट AFP
Image caption शान्ति कायम गर्न दुवै पक्षलाई चर्को अन्तराष्ट्रीय दवाव परेको थियो

दक्षिण सुडानको सरकारी र विद्रोही पक्षका नेताबीच २४ घण्टा भित्र देशमा पाँच महिनादेखि जारी युद्ध रोक्ने सहमति भएको छ।

इथियोपियाको राजधानी अडीस अबाबामा दुइ पक्षबीच भएको सहमतिमा नयाँ निर्वाचन गराउन र नयाँ संविधान लेख्न संक्रमणकालीन सरकार बनाउने उल्लेख छ।

अमेरिकी विदेशमन्त्री जोन केरीले पछिल्लो सहमतिको स्वागत गर्दै त्यसको पूर्ण कार्यन्वयनमा जोड दिएका छन्।

सहमति

दुई पक्षबीचको वार्तालाई पूर्वी अफ्रिकी देशहरुको क्षेत्रिय संगठन आइजीएड र हाल सो संगठनका अध्यक्ष रहेका इथियोपियाका प्रधानमन्त्री हाइलु मारियम डेसालिनले मध्यस्थता गरेका थिए।

अडीस अबाबास्थित बीबीसीका सम्वाददाताका अनुसार सम्झौतामा हस्ताक्षर भएको २४ घन्टाभित्रै युद्धविराम गर्ने भनिएको छ र स्थायी युद्धविराम भने त्यसपछि तय गरिने बताइएको छ।

दुइ पक्षका प्रमुखहरु राष्ट्रपति साल्भा कीर र विद्रोहि नेता रियक मचारले युद्द रोकेर मानवीय सहायता शुरु गर्न अनुमति दिनेगरी विज्ञप्ती जारी गर्नेछन्।

कसले संक्रमणकालीन सरकार गठन गर्ने भन्ने स्पष्ट भइसकेको छैन।

अमेरिकी विदेशमन्त्री केरीले दक्षिण सुडानको भविष्यको लागि उक्त सम्झौता महत्वपुर्ण हुनसक्ने बताए।

उनले भने, “अब एउटा लामो र कठिन यात्रा सुरु हुन्छ र त्यसका लागि निरन्तर खटिनु जरुरी छ, दक्षिण सुडानका मानिसहरुले लामो समयसम्म निक्कै धेरै दुख खेपिसकेका छन्।”

केरी र संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले हालैका दिनमा दक्षिण सुडानको भ्रमण गरी शान्ति कायम गर्न दवाव दिएका थिए।

उक्त सम्झौतामा वार्ताको आयोजना गरेका इथियोपियाका प्रधानमन्त्रीले पनि हस्ताक्षर गरेका छन्।

प्रमुख सहजकर्ता सेयुम मेसफिनले कीर र मचारलाई युद्ध समाप्त पारेकोमा बधाइ दिएका थिए।

तर अफ्रीकन युनियनका अधिकारी स्मेल चेरगुइले त्यहाँ जारी परिस्थितिमाझ दक्षिण सुडानमा शान्ति कायम गर्न सजिलो हुने छैन भन्दै सचेत गराएका छन्।

गत जनवरीमा पनि दुवै पक्षले हिंसा अन्त्य गर्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए तर त्यसलाई कार्यान्वयन गर्न विफल भएका थिए।

युद्धअपराध

संसारको सबभन्दा नयाँ मुलुकमा भइरहेको द्वन्द्वमा परि हजारौंको मृत्यु भैसकेको छ भने दशलाख भन्दा बढि घरबारविहिन भएका छन्।

दुवै पक्षले द्वन्द शुरु भएयता पहिलोपटक आमने सामने बसेर इथियोपियाको राजधानी अडीस अबाबामा शुक्रबार अबेर उक्त संझौता गरेका थिए ।

आडिस अबाबाबाट बीबीसीका सम्वाददाता इम्यानुएल इगुएन्जा भन्छन्, पछिल्लो सहमती दक्षिण सुडानलाई पछिल्लो ५ महिना यता आक्रान्त पारेको रक्तपातपुर्ण दवन्द र राजनीतिक संकट समाधान गर्न चालिएको एक दमै ठुलो कदम हो।

संयुक्त राष्ट्रसंघले संसारकै सबैभन्दा कान्छो मुलुकका दुवै द्वन्दरत पक्षहरु मानवता विरोधी गम्भिर अपराधमा संल्गन रहेको भन्ने एउटा प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट पछिल्लो सहमति भएको हो।