प्रदुषण रोक्न 'सेप्टिक ट्याङक'

  • 11 मे 2014
Image caption शहरी क्षेत्रमा सौचालयको फोहोर ढल मार्फत सिधैँ नदीमा मिसाउने गरिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ

काठमान्डूका नदीहरुलाई ढलमुक्त बनाउन ६ महिना भित्र घर घरमा सेप्टिक ट्याङक बनाउन लगाउने र त्यसो नगर्नेलाई कार्वहीको दायारामा ल्याउने शहरी विकास मन्त्रालयले बताएको छ।

सो निर्णयको कार्यन्वयनको लागी अनुगमन टोलीहरु खडा गरिने अधिकारीहरुले बताएका छन्।

नेपालका शहरी क्षेत्रमा घर घरका सौचालयको फोहोर ढल मार्फत सिधैँ नदी र तालहरुमा मिसाउने गरिएकाले पानी प्रदुषित भएको भन्दै चिन्ता व्यक्त गरिदैँ आएको छ।

ढल

राजधानीका नदीहरु सफा राख्नका निम्ति ढल प्रशोधन र सेप्टिक ट्यांङ्क बनाउन अपरिहार्य रहेको अधिकारीहरुले बताएका छन्।

शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले घर निर्माणपूर्व नक्शा पास गराउँदा सेप्टिक ट्यांङ्क बनाउने कबुल गरेका अधिकांश घरधनीहरुले नबनाएको पाइएको बताए।

उनले भने, “शुरुमा त्यस्ता घरधनीहरुलाई निर्माणका लागि निश्चित समयसीमा तोकिन्छ, जसको सेप्टिक ट्यांङ्क बनाउन सम्भव छैन्, उहाँहरुले बेग्लै शुल्क तिर्नुपर्ने एउटा नीतिगत निर्णय भएको छ।”

निर्माण भएका घरहरुका नक्शा महानगरपालिकासँगै भएकाले सेप्टिक ट्यांङ्क बनाए वा नबनाएको अनुगमन गर्न खासै कठिनाई नहुने अधिकारीहरुको भनाई छ।

म्याद

सचिव थापाका अनुसार पुराना घरहरुको हकमा भने बेग्लै बाटो अपनाइने छ।

“घरधनीहरुलाई त्यो बनाउनका निम्ति केही समय दिनुपर्छ, कति समय दिने भन्ने निर्णय हुन्छ, तीनदेखि ६ महिनाको समय दिनुपर्छ।”

स्थानीय बासिन्दाले आफ्ना घरबाट निष्काशन गरिने ढल सीधै खासगरी बाग्मती तथा शाखा नदीहरुमा मिसाउने क्रमले ती नदीहरु नराम्ररी प्रदूषित भएको भन्दै आवाज उठ्न थालेपछि सरकारले पछिल्लो निर्णय गरेको हो।

विकसित मुलुकमा शौचालय र स्नानकोठाबाट निसक्ने फोहोर व्यवस्थापन गर्न नदी किनारबाट ढल बनाउने र ठाउँ ठाउँमा प्रशोधन केन्द्र बनाइ पानी सफा गरेर नदीमा मिसाउने गरिएको जानकारहरु बताउँछन्।