सुडानमा युद्धविराम कार्यान्वयन

  • 11 मे 2014
तस्वीर कपीराइट reuters
Image caption दक्षिण सुडानमा भएको द्वन्द्वमा पछिल्लो पाँच महिनामा करिब पन्ध्रलाख विस्थापित भएको बताइन्छ

दक्षिण सुडानमा झन्डै १५ लाख मानिसहरु विस्थापित हुने गरी भएको ५ महिना लामो लडाँइ रोक्न युद्धविराम सम्झौता लागू गरिएको छ।

राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मचारले २४ घण्टा भित्र युद्ध रोक्ने सहमति शुक्रबार गरेका थिए।

राष्ट्रपतिका एक जना प्रवक्ताले सरकारी सैनिकहरुमाथी आक्रमण गरिए उनीहरुले जवाफी कार्वाही गर्ने बताए तर त्यस्तो समस्या आउने अपेक्षा नगरिएको उनको भनाई छ।

यस अघि जनवरीमा भएको यस्तै एउटा समंझौता दुवै पक्षले आरोप प्रत्यारोप गर्दै केही दिनमा नै भंग गरेका थिए।

प्रतिबद्धता

इथियोपियाको राजधानी अडिस अबाबामा हस्ताक्षर गरिएको पछिल्लो सहमतिमा संसारकै कान्छो मुलुकमा सक्रंमणकालीन सरकार बनाएर देशको लागी नयाँ संविधान लेख्ने र चुनाव गराउने प्रतिबद्धता जनाइएको छ।

यसअघि संयुक्त राष्ट्र संघले दुवै पक्षलाई द्वन्द्वको भुमरीमा फसेको जनसंख्यालाई आपतकालीन सहायता वितरण गर्न सहज वातावरण बनाउन अपिल गरेको थियो।

राष्ट्रसंघले झन्डै ५० लाख मानिसहरु भोकमरीको खतरामा रहेको भन्दै उनीहरुलाई सहयाताको आवश्यक रहेको बताएको छ।

सो क्षेत्रमा खटिएका राष्ट्रसंघका उच्च अधिकारी टोबी लान्जरले आपतकालीन सहयोगका लागि बाटो र नदीमा आवात जवात खुल्ला गरीनुपर्ने बताए।

आशंका

नयाँ सरकार निर्माण लगायत कतिपय मुद्दामा पछिल्लो सहमतिले स्पष्ट मार्गचित्र प्रस्तुत नगरेको भन्दै कतिपयले दक्षिण सुडानमा दिगो शान्ति आउनेमा आशंका जनाएका छन्।

राष्ट्रपतिका प्रवक्ताले लडाँइले हजारौंको ज्यान लिएको भन्दै त्यसका कारण गुमेको विश्वास पुन आर्जन गर्ने जिम्मा विद्रोही नेता मचारको काँधमा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघले सरकारी र विद्रोही दवै पक्ष गैरन्यायिक हत्या, बलात्कार लगायतका गम्भीर मानवता विरोधी अपराधमा संल्गन रहेको बताएको छ।