अपहरित छात्राहरुको खोजीमा अमेरिकी विशेष विमान

  • 13 मे 2014
तस्वीर कपीराइट AFP
Image caption बोको हरामले ती छात्राहरुको साट्टो आफ्ना समूहका सदस्यहरुलाई रिहा गर्नुपर्ने माग गरेको छ

अमेरिकाले बोको हरामले अपहरण गरेका करीव २ सय स्कूले छात्राको खोजीमा सघाउन विशेष विमान पठाउन लागेको जनाएको छ।

ती छात्राहरुलाई नाइजेरियाको बोर्नोबाट चार हप्ताअघि अपहरण गरिएको थियो।

छात्राहरुले पुरै शरीर छोप्ने कपडा निकाब लगाएर खुल्ला ठाउँमा मुसलमानहरुको पवित्र धर्म ग्रन्थ कुरान पढिरहेको भिडियो सार्वजनिक गरिएपछि उनीहरुका परिवारको प्रतिक्रिया आएको छ।

अमेरिकाको विदेश मन्त्रालयले भनेको छ, गुप्तचर विज्ञहरुले ती बालिकाहरु लुकाइएको स्थान पता लगाउन सो भिडियो फुटेजको गहिरो अध्ययन गरिरहेका छन्।

सहयोग

सो प्रयासमा व्यवसायिक रुपमा अन्तरिक्षबाट लिइएका तस्विरहरु नाइजेरिया सरकारलाई उपलब्ध गराइरहेको अमेरिकी भनाई छ।

व्हाइट हाउसका प्रवक्ता जे कार्नेले अमेरिकी विदेश र रक्षा मन्त्रालय एवं सुरक्षा निकाय एफबीआइका ३० जना अधिकारीहरु हाल नाइजेरियामा रहेको बताए।

भिडियो सन्देशमा बोको हरामका नेता अबु बकार सेकाउले आफ्नो समुहका केही बन्दी सदस्यहरुलाई रिहा गरिए ती छात्रालाई मुक्त गर्ने बताएका थिए।

नाइजेरीयाको गृहमन्त्रालयले सो प्रस्ताव अस्वीकार गरेको छ।

उक्त प्रस्तावबारे अमेरीकी विदेशमन्त्रालयकी प्रवक्ता जान शाकीले भनिन्, “अपहरणकारीहरुलाई उनीहरुका आपराधिक गतिविधिका लागि फिरौती वा अन्य कुनै पनि छुट वा लाभ दिनु हुँदैन।”

तर सो क्षेत्रको प्रतिनिधित्व गर्ने एक जना सिनेटर अली इन्डुमेले लचकदार दृष्टिकोण अपनाउन माग गरेका छन्।

उनले भने, “हाम्रा मानिसहरुले ती केटीहरुको फिर्ती र शान्ति चाहेका छन्, त्यसका लागी सरकारले जे सुकै किन गर्नु नपरोस।”

आश्चर्य

स्कुले छात्राका केही आफन्तहरुले भिडियोमा बालिकाहरुलाई जिवितै देख्दा उनीहरु आशावादी भएको तर इशाइ छात्राले मुसलमान महिलाको जस्तो पहिरन लगाएकोमा आफूहरुलाई आश्चर्य लागेको बताएका छन्।

अपहरित एक जना बालिकाका आफन्तले बीबीसीसँग भने, “शुरुमा त्यसले मलाई केही आशा दियो कि उनीहरु जिवितै छन् तर अर्को तर्फबाट त्यसले थप तनाव पनि दिएको छ, मलाइ के पनि भनिएको छ भने उनीहरुलाई जबरजस्ती धर्म परिवर्तन गराइएको छ।”

नाइजेरियाले हवाइ निगरानीको लागी सहयोग उपलब्ध गराउन बृटेनसँग पनि आग्रह गरेको छ।

अमेरिकाले बोको हरामलाई प्रतिबन्धहरु लगाउन अन्य अन्तर्राष्ट्रिय साझेदारहरुसँग छलफल गरिरहेको जनाएको छ।