युक्रेन भरी जनमतसंग्रह गराइने संकेत

  • 13 मे 2014
तस्वीर कपीराइट Reuters
Image caption जनमतसंग्रहको तिथिबारे युक्रेनी अधिकारीहरुले केही बताएका छैनन्

पूर्वी युक्रेनको डोनेस्क प्रान्तका गभर्नरले केन्द्र सरकारबाट प्रान्तीय सरकारलाई थप शक्ति विकेन्द्रित गर्नका निम्ति देशभर जनमतसंग्रह गराउने सरकारको योजना रहेको बताएका छन्।

कियभ सरकारबाट नियुक्त गरिएका गभर्नर सेर्हि टारुटाले अनौपचारिक जनमतसंग्रह मार्फत रुस समर्थक पृथकतावादीहरुले स्वतन्त्रतासम्बन्धी गरेको घोषणा गैरकानूनी काम भएको पनि बताए।

देशभर सबै पक्षसँग वार्ता गर्ने युक्रेन सरकारको पहलप्रति जर्मन विदेशमन्त्रीले समर्थन जनाएका बेला टारुटाको यस्तो प्रस्ताव सार्वजनिक भएको हो।

कियभले बुधबार गोलमेच सम्मेलन गर्ने योजना बनाएको छ।

वार्ता

यद्यपि सशस्त्र पृथकतावादीहरुले वार्तामा बस्न अस्वीकार गरेका छन्।

जर्मन विदेशमन्त्री फ्रान्क-वाल्टर स्टाइन्मायरले युक्रेनमा मे २५ मा हुने राष्ट्रपतिय निर्वाचन संकटबाट बाहिर निस्कनका निम्ति महत्वपूर्ण हुने बताएका छन्।

उनले भने, ‘’मे २५ तारेखमा हुने राष्ट्रपतिय निर्वाचन महत्वपूर्ण हुनेमा हामी सबै पूर्णरुपमा सहमत छौं भन्ने मलाई लाग्छ। मंगलबार मात्र होइन, पछिल्ला हरेक छलफलमा योग्य सबैले मतदान गर्न पाउनका लागि उपयुक्त वातावरण कसरी बनाउन सकिन्छ भन्ने कुरा हामीले गर्दै आएका छौं।‘’

कुटनीतिक तवरबाट समाधान खोज्ने प्रयासमा स्टाइन्मायर अहिले युक्रेनको राजधानी कियभमा छन्।

रुसमा गाभिने उद्देश्यसहित आइतबारको जनमतसंग्रहपछि रुस समर्थक अभियन्ताहरुले पूर्वी युक्रेनमा स्वतन्त्र राज्य घोषणा गरेका थिए।

कियभ, अमेरिका र युरोपेली संघले डोनेस्क र लुहान्स्कमा गराइएको जनमतसंग्रहलाई गैरकानूनी भनेका छन्।

कियभमा स्टाइन्मायरले त्यहाँका प्रधानमन्त्री आर्सेनी यात्सेन्युक र विदेशमन्त्री एन्ड्रि देश्चेत्स्यासँग भेटवार्ता गरेका छन्।

नियन्त्रण

युक्रेनले कब्जा जमाइएका भू-भागमाथि पुनः नियन्त्रण कायम गर्ने, सशस्त्र समूहलाई चरणबद्ध रुपमा निशस्त्र पार्दै जाने र राज्यमाथि अधिकार पुनर्स्थापित गर्ने स्टाइन्मायरले विश्वास व्यक्त गरे।

यसैबीच रुसी विदेशमन्त्रीले युरोपेली संघको थप नाकाबन्दीले युक्रेनको संकट मत्थर पार्ने प्रयासलाई प्रभावित पार्ने जनाएका छन्।

मे २५ मा हुने राष्ट्रपतिय निर्वाचनअघि त्यहाँको प्रशासनिक स्वरुप र क्षेत्रीय अधिकारबारे छलफलका निम्ति कियभलाई मनाउन रुसले पश्चिमा मुलुकहरुलाई आग्रह गरेको छ।

‘’युक्रेनी संकटको गहिराइ बारे आइतबारको जनमतसंग्रहको संकेत कियभलाई स्पष्ट हुनुपर्छ,’’ रुसले विज्ञप्तिमा भनेको छ।