पशुपतिको पुजा प्रभावित

  • 14 मे 2014
तस्वीर कपीराइट Reuters
Image caption पशुपतिका पुजारी भट्टहरुले भेटीमा २० प्रतिशत हिस्सा खोज्दै पुजा प्रभावित पारेका छन्

पशुपतिनाथका मुख्रय पुजारी भट्टहरूले विशेष पुजामा कटौती गर्दै दैनिक दशवटामा सीमित गरिदिएका छन्।

पुजारीहरुले विशेष पूजाको भेटीको २० प्रतिशत हिस्सा खोजिरहेका छन्।

तर पशुपति विकाश कोषले १५ प्रतिशतमा सीमित गर्न खोजिरहेको छ।

बार र तिथी अनुसार दैनिक एक सय वटा सम्म हुने विशेष पुजा नै पशुपतिको आम्दानीको एउटा स्रोत भएकोले पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिको अब बस्ने बैठकले भट्टहरुको मागलाई सकेसम्म सम्बोधन गर्ने गरी निर्णय गर्ने कोषले जनाएको छ।

समस्या

११ सय देखि नौ लाख रुपैयाँ सम्म भेटी चढाएर गरीने विशेष पुजाको आम्दानीबाट आफुहरुलाई २० प्रतिशत हिस्सा माग गर्दै भट्टहरुले दैनिक दशभन्दा बढि विशेष पुजा गर्न छाडेपछि पछिल्लो समस्या देखिएको हो।

सोमबार र शनिबार सयवटा भन्दा बढि विशेष पुजा भए पनि अन्य दिन कम्तिमा ४० वटा हुने कोषले जनाएको छ।

हाल मुलभट्ट सहित पशुपतिनाथमा चारजना भट्टहरु छन्।

उनीहरुसँग समस्या समाधानका लागि दैनिक जसो संवाद भईरहेको कोषका सदस्य सचिव गोविन्द टन्डन बताउँछन्।

उनी भन्छन्, “सञ्चालक परिषद १५ प्रतिशत सम्म दिन तयार छ। उहाँहरु पहिले पच्चिस प्रतिशत भन्नुहुन्थ्यो अहिले २० प्रतिशत भनिरहनुभएको छ।"

यस बाहेक भट्टहरुले आम्दानीमा लाग्ने कर मिनाहा हुनु पर्ने माग समेत राख्दै आएका छन्।

बैठक

मन्दिर तथा पुजा व्यवस्था नियमावलीमा भट्टहरुको यि मागहरुलाई सम्बोधन गर्ने व्यवस्था नभएकाले समस्या आएको सदस्य सचिव टन्डन बताउँछन्।

उनीहरुका यी मागसम्बन्धमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले बिहीबारका लागि बैठक डाकेको छ।

“मुल भट्टलाई तलव, भत्ता र अरु सुविधा गरेर महिनाको दुई लाख पच्चिस हजार र सहायक भट्टहरुलाई एक लाख साठी हजार जतिको छ।"

विहिबारको बैठक नयाँ व्यवस्थाका लागि नियम संशोधनमा केन्द्रित हुने बताइएको छ।

विशेष पुजा बापत प्राप्त हुने रकमबाट, कमिसनका रुपमा समेत हेरिने २० प्रतिशत हिस्सा पाउनु पर्ने मागको नेतृत्व गर्दै आएका गणेश भट्टले सञ्चारमाध्यममा विचार राख्न नमिल्ने भन्दै कुनै प्रतिक्रया दिन चाहेनन्।

नियमित पूजालाई भने उनीहरुले निरन्तरता दिएका छन्।