टर्कीमा सैयौंको मृत्यु

  • 14 मे 2014
घाइते तस्वीर कपीराइट na
Image caption जमिनभन्दा दुई किलोमिटर तल अझैं थुप्रै कामदार फसेको र उनीहरुको उद्धार प्रयास जारी रहेको बताइएको छ

टर्कीका प्रधानमन्त्री रेजेप तइप एर्दोआनले पश्चिमी टर्कीस्थित एउटा खानीमा भएको विष्फोटनमा परी मर्नेहरुको संख्या दुईसय नाघेको जनाएका छन्।

बुधबार सोमा नगरमा कोइला खानीको भ्रमण गरेपछि उनले त्यस्तो बताएका हुन्।

एर्दोआनले भने, "जीवन गुमाएका हाम्रा दाजुभाइहरुप्रति इश्वरले दया गरुन्। म आशा गर्छु हाम्रा घाइते दाजुभाइहरु चाँडै निको हुनुहुनेछ। खानी भित्र चेपिएका दाजुभाइहरुलाई बाहिर निकाल्न उद्धार कार्य जारी छ।"

अधिकारीहरुले एकसयभन्दा बढी खानी कामदारहरु अझै हराइरहेको बताएका छन्।

घोषणा

टर्कीको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

उर्जामन्त्री तानेर यिल्डिजले उक्त दुर्घटना हुँदा ७ सय ८० भन्दा बढी कामदार खानीमा रहेको बताए।

ती मध्ये दुई सयको उद्धार गरिएको र घाइते ७० जनाभन्दा बढीको उपचार भइरहेको बताइएको छ।

अधिकारीहरुले खानीभित्रको विद्युत वितरण इकाईमा भएको विष्फोटनका कारण उक्त दुर्घटना भएको बताएका छन्।

उर्जामन्त्रीले अधिकांश खानी उत्खननकर्ताको मृत्यु कार्वन मोनोअक्साइड बढी भएका कारण भएको हुनसक्ने बताए।

भित्रै परेकाहरुलाई सास फेर्न सजिलो होस भनेर पाइपबाट अक्सिजन पठाइएको छ।

जमिनभन्दा दुई किलोमिटर तल सो दुर्घटना भएको थियो।

प्रतिक्षा

राजधानी अंकाराभन्दा ४५० किलोमिटर पश्चिममा रहेको दुर्घट्नास्थल र अस्पतालमा अत्तालिएका आफन्तहरुको ठूलो घुँइचो लागेको छ।

त्यही भीडमा थिइन् एकजना खानी उत्खननकर्ताकी आमा सेना इस्बिलर।

काठको थुप्रोमा उभिएर उनले चिन्तित मुद्रामा घाँटी तान्दै खानीभित्रबाट निकालिइरहेका कामदारहरुलाई हेरिरहेकी थिइन्।

उनले भनिन्, “मैले दिउँसैदेखि मेरो छोरोलाई पर्खिरहेकी छु, मैले अहिलेसम्म उसबारे केही पनि सुनेकी छैन।”

टेलिभिजनका दृश्यहरुमा कोइलाको मोसो लतपतिएका घाइतेलाई उद्धारकर्ताले स्ट्रेचरमा राखि एम्बुलेन्ससम्म पुर्याइरहेको देखाइएको छ।

विश्लेषकहरु अन्य औद्योगिक देशहरुको तुलनामा टर्कीको कोइला उत्खनन उद्योग त्यति सुरक्षित नरहेको बताउँछन्।

यसअघि सन् १९९२ मा भएको एउटा दुर्घट्नामा २७० जना खानी कामदारको मृत्यु भएको थियो।