प्रेरणादायी संक्षिप्त जीवन

  • 15 मे 2014
स्टिभन सट्टन तस्वीर कपीराइट arquivo pessoal
Image caption सट्टनले आफ्नो पीडालाई परोपकारी अभियानमा लगाएर समाजलाई ठूलो गुन लगाएको ठानिएको छ

स्टिभन सट्टनलाई जटिल क्यान्सरले गाँज्दा उनी जम्माजम्मी १५ वर्षका थिए।

तर आफ्नो पीडा र दुर्भाग्यमा डुब्नुभन्दा यी किशोरले छुट्टै बाटो रोजे।

१९ वर्षको उमेरमा ज्यान गुमाएका उनले गत चार वर्षमा प्राप्त गरेको उपलब्धिलाई अहिले सर्वत्र प्रशँसा गरिएको छ।

क्यान्सरविरुद्ध लड्न करोडौँ रुपैयाँ संकलन गर्न सक्षम ब्रिटेनका ती किशोरको बुधबार भएको निधनप्रति गहिरो शोक व्यक्त गर्दै त्यहाँका नेता तथा कलाकारहरुले उनको अभियानले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सहयोग

ठूलो आन्द्राको भागमा भएको क्यान्सरका कारण मे १४ तारीख बितेका स्टिभन सट्टनले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत मर्मस्पर्शी ढंगले आह्वान गरेको सहयोगको याचना सुनी टिन एज क्यान्सर ट्रष्ट भन्ने परोपकारी संस्थाका निम्ति पचास करोड रुपैयाँभन्दा धेरै जुटेको थियो।

मृत्युअघि उनले भनेका थिए, जीवनलाई समयको आधारमा नापेर हेर्ने चलन अचेल मलाई पटक्कै ठिक लाग्दैन।

“त्यसो गर्नुको कुनै तुक छैन। जीवनको वास्तविक मापन त तिमीले के परिवर्तन ल्याउन सक्यौ भन्ने हुनुपर्छ,” उनको भनाई थियो।

सट्टनले भनाई र गराईमापनि समानता ल्याइदिए।

आफू मर्नुअघि गर्नुपर्ने विविध कार्यको उनले एक सूची नै तयार पारे।

त्यसैको परिणाम उनले आकाशमा विमानबाट हामफाल्ने स्काईडाईभ मात्रै गरेनन्, गत मे महिनामा वेम्बले रंगशालामा उनले करीब ९० हजार मानिसहरुको सामु यूएएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका दौरान ड्रम पनि बजाए।

सामाजिक सञ्जाल

स्टेफ्फोर्डशेर बर्न्टवुडका किशोर स्टिभनले आफुलाई लागेको रोगबारे सामाजिक सञ्जालमा दुःख बाँडेका थिए।

त्यसपश्चात उनले अनलाईनमार्फत, परोपकारी संस्था, टिन एज क्यान्सर ट्रष्टलाई, सहयोग जुटाउन आह्वान गरे।

जसमा करीब ५३ लाख डलर अर्थात पचास करोड चानचुन रुपैयाँ जम्मा भयो।

बुधबार उनको निधनको खबरसँगै सो संस्थाका निम्ति चन्दा संकलन फेरि तीव्र भएको छ।

उनको निधनबारे फेसबुकमा राखिएको पोस्टलाई एक घण्टाभित्र सवा लाख मानिसले शेयर गरेका थिए।

तस्वीर कपीराइट Jason Manford
Image caption सट्टनको अभियानलाई कलाकारहरुलेपनि निकै साथ दिए

उनकी आमा जेन सट्टनले फेसबुकमार्फत आफ्नो छोराले शान्तिपूर्ण रुपमा निद्राको बेला देह त्यागेको उल्लेख गरेकी छन्।

लिखित वक्तव्यमा उनले भनिन्, “मेरो मन गर्वले फुलेको छ भने पीडाले कुँडिएको छ। मेरो साहसी, निस्वार्थी र प्रेरणादायी छोरा स्टिभनको बुधबार बिहान निदाएकै बखत निधन भयो। हामीलाई थाहा छ उसलाई अब कहिल्यै बिर्सिइने छैन। उसको आत्मा रहिरहने छ। उसले आर्जन गरेका उपलब्धी रहिरहने छन्।”

प्रेरक

जीवनका अन्तिम क्षणहरुमा उनले गरेका उत्साहपूर्ण कार्यहरुको चारैतिरबाट प्रशंसा गरिएको थियो।

केही समयअघि उनलाई अस्पतालमा भेटेका ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले स्टिभनकोले दिएको प्रेरणाको प्रशंसा गरे।

उनको कार्यले बावेल क्यान्सर अर्थात ठूलो आन्द्राका भागहरुमा लाग्ने क्यान्सर बारेको जनचेतनामा उल्लेख्य वृद्धि भएको बताइएको छ।

खासगरी कम उमेरका मानिसलाईपनि यो रोग लाग्न सक्छ भन्ने चेतनाको सञ्चार भएको अधिकारीहरुले जनाएका छन्।

शुरुमा जम्मा दश हजार पाउण्ड अर्थात करीब १६ लाख सहयोग रकम उठाउने उनको अभियानलाई सबैको साथ मिलेको थियो। तिनमा चर्चित कलाकारहरुपनि थिए।