'प्रचण्ड र भट्टराई सहमति नजिक'

  • 17 मे 2014
तस्वीर कपीराइट AFP
Image caption पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले उठाएका सबै विषयहरुलाई अध्यक्ष प्रचण्डले संबोधन नगर्ने जानकारहरु बताउँछन्

राष्ट्रिय सम्मेलनपछि एकीकृत नेकपा माओवादीभित्र खासगरी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरहरुबीच देखिएको विवाद अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको दुबै नेताका निकटवर्तीहरुले बताएका छन्।

भट्टराईनिकट मानिने एक नेताले केन्द्रिय समिति लगायत पार्टीका निकायहरुमा सहभागिताबारे दुवै पक्षबीच सैद्धान्तिक सहमति भएको बताए।

प्रचण्डका एक सहयोगीले उक्त सहमतिलाई सोमबारसम्म औपचारिकता दिन दुवै नेता राजी भएको जनाए।

बिराटनगरमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनसँगै एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद छताछुल्ल भएको थियो।

विवाद

उक्त सम्मेलनमा फरक प्रस्ताव पेश गरेका भट्टराईले आफू केन्द्रिय समितिमा नबस्ने घोषणा मात्र गरेनन् बरु केन्द्रीय समितिमा आफू पक्षधर केही नेताहरु पनि पठाएनन्।

उनीनिकट मानिने नेताहरुको सहभागिता विनै उक्त पार्टीको केन्द्रिय समितिको बैठक शुक्रबार शुरु भयो।

तर प्रचण्ड र भट्टराईबीच आईतबार भएको छलफलमा पार्टीको केन्द्रिय समिति, संसदीय दल र पदाधिकारीको विषयमा मिलेर जान दुबै नेता सहमति नजिक पुगेको भट्टराईनिकट मानिने एकजना नेता देवेन्द्र पौडेलले बताए।

उनले भने, ''तत्काल बिराटनगर सम्मेलनपछि अल्झिएको जुन संगठनात्मक विषय हो। त्यसलाई टुंग्याउनका निम्ति सदनभित्र, पदाधिकारी र केन्द्रिय समितिको बनोटमा खासगरी सबै भावना, विचार र प्रवृत्तिको प्रतिनिधित्व गर्ने गरी मिलाएर जाऔं भन्ने करीब करीब सहमति भएको छ।''

समझदारी

प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भट्टराईले विराटनगर सम्मेलनमा पेश गरेका ७ बुँदे फरक प्रस्ताव छलफलका लागि पार्टीको तल्लो तहसम्मै लैजाने समझदारी भएको बताए।

उनले केन्द्रिय समिति, संसदीय दल र पदाधिकारीबारे प्रचण्ड र भट्टराईबीच शनिबार भएको छलफलबाट निस्किएका निष्कर्षलाई सोमबारसम्ममा औपचारिकता दिइने बताए।

खड्काले भने, ''सकारात्मक ढँगमा त्यसबारे छलफल भएको हो। शनिबार र आईतबार विभिन्न स्तरमा छलफल गर्ने र सोमबार टुंग्याउने भन्ने समझदारी भएको हो।''

यसअघि आफु पार्टीको कुनै पदमा नबस्ने बताउँदै आएका भट्टराई भने केन्द्रीय समितिमा अब सहभागी हुने दुवै पक्षका नेताहरुले बताएका छन्।

वैचारिक विषयको नाममा भट्टराईले पार्टीभित्र शक्ति बाँडफाँडका लागि त्यस्तो अडान लिएको कतिपयको भनाइ छ।