दिल्ली र वाराणसीमा मोदीको भव्य स्वागत

  • 17 मे 2014
मोदी तस्वीर कपीराइट AP
Image caption दिल्ली र वाराणसीमा नरेन्द्र मोदीको भव्य स्वागत गरिएको थियो

छिट्टै भारतको नयाँ प्रधानमन्त्री नियुक्त हुने अपेक्षा गरिएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई राजधानी दिल्ली तथा वाराणसीमा भव्य स्वागत गरिएको छ।

गृहनगर अहमदावादबाट शनिबार राजधानी दिल्ली आइपुग्दा मोदीको भव्य स्वागत गरिएको थियो।

चिया बेच्ने सामान्य पृष्ठभूमिबाट एक अरब भन्दा बढी भारतीयहरुको नेताकारुपमा उदाएका मोदीले विमानस्थलदेखि उनको दलको मुख्यालयसम्म आयोजित विजय जुलुसमा भाग लिएका थिए।

धन्यवाद

त्यहाँ उनले सबै मतदाताहरु र आफ्ना समर्थकहरुलाई धन्यवाद दिए।

मोदी शनिबार बेलुका भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहका साथ आफ्नो निर्वाचन क्षेत्र तथा हिन्दुहरुको पवित्र शहर वाराणसी गएर प्रसिद्ध विश्वनाथ मन्दिरमा रुद्राभिषेक पुजामा सहभागी भएका थिए।

उनले दशाश्वमेध घाटमा आयोजित गँगा आरतीमा पनि भाग लिएका थिए।

चुनावमा भारतीय कँग्रेस गठबन्धनको नराम्रो हार तथा विपक्षी भारतीय जनता पार्टीको स्पष्ट जीतबाट भाजपा समर्थकहरु निकै उत्साहित भएका छन्।

मोदीलाई स्वागत गर्न पुगेका दिल्लीका एकजना वासिन्दा अजय पाठकले भने, “हामी के सोंच्छौं भने दश वर्षपछि हामीले हाम्रालागि एउटा सही सरकार चुनेका छौं। यो सरकारले भारतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुराउने छ।“

आफ्ना सहयोगीदलहरु सहित ५४३ सदस्यीय लोकसभामा भारतीय जनता पार्टी र उसका सहयोगीहरुले ३३० भन्दा बढी स्थानमा जीत हासिल गर्ने ठानिएको छ।

राजीनामा

यसैबीच भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष आफ्नो राजीनामा बुझाएका छन्।

अर्थशास्त्री सिंहले दुई कार्यकाल गरी १० वर्षसम्म भारतको प्रधानमन्त्रीको जिम्मा संहाले।

प्रधानमन्त्रीका रुपमा राष्ट्रको नाममा अन्तिम सम्बोधन गर्दै उनले भारतीय जनता पार्टीलाई उसको शानदार जीतका लागि बधाइ दिए।

उनले आफ्नो जीवन एउटा खुला किताब जस्तै भएको र देशको सेवाका लागि आफुले पुरा शक्ति लगाएर काम गरेको पनि बताए।

बधाइ

सिंहको बहिर्गमनपछि नयाँ प्रधानमन्त्री नियुक्त हुन लागेका नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति ओबामा, ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन लगायत विश्व नेताहरुले बधाइ दिएका छन्।

उनीहरुले मोदीलाई वाशिङटन तथा लण्डन भ्रमणको निम्तो पनि दिएका छन्।

बहुसंख्यक मुसलमानहरु सहित एकहजार जनाभन्दा बढीको ज्यान जाने गरी बाह्र बर्षअघि गुजरातमा भएको दङ्गा पछि अमेरिकाले मोदीलाई प्रवेशाज्ञा दिन अस्वीकार गरीदिएको थियो।

मोदीमाथि ती दङ्गा रोक्न पर्याप्त काम नगरेको आरोप लागेको थियो।

तर मोदीले ती आरोपहरुको खण्डन गर्दै आएका छन्।