मोदी जीतको सम्भावित असर

  • 18 मे 2014
तस्वीर कपीराइट AFP
Image caption भारतको संसदमा कुनै पनि दलले झन्डै ३० बर्षपछि स्पष्ट बहुमत ल्याएको हो

नेपालमा केही समय अघिसम्मपनि आम मानिसहरुलाई भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा बढ्ता जानकारी उनको दल भारतीय जनता पार्टीको बारेमा थियो।

तर आफ्नो हिन्दु राष्ट्रवादी दललाई भारतको आम चुनावमा शानदार जीत दिलाउन मुख्य भूमिका खेलेका मोदी अब यहाँको लागि अपरिचित रहेनन्।

दिल्लीमा हुन लागेको मोदीको सत्तारोहणसँगै उनको दल भाजपाले प्रवर्द्धन गर्ने गरेको हिन्दुत्वको राजनीतिको बाछिटा काठमान्डूमा देखिने यहाँका कतिपय विश्लेषकहरुको कथन छ।

दश वर्षे माओवादी सशस्त्र विद्रोह र त्यसपछि ०६२/०६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्रमा रुपान्तरण गरेको थियो।

हिन्दूहरुको पवित्र नगरी बनारस सहित दुई ठाउँबाट चुनाव जितेका मोदीले चुनावी अभियानका क्रममा हिन्दुहरुको अधिकारको पक्षमा जोड तोडका साथ मुद्दाहरु उठाएका थिए।

हिन्दुत्व

नेपालको करिव २ करोड ७० लाख जनसंख्याको ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मसँग आवद्ध छन्।

भाजपाका अध्यक्ष राजनाथ सिंहले पटक पटक नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्नु गल्ती भएको सार्वजनिक रुपमा नै बताएका छन्।

पछिल्लो घटनाक्रमले पार्न सक्ने प्रभावका बारेमा पत्रकार युवराज घिमिरे भन्छन्, “राजनाथ सिंह भारतको नेपाल सम्बन्धी विदेश नीति असफल भएको धारणा राख्छन् र उनले जातिय संघियताको विपक्षमा सार्वजनिक रुपमा नै बोलेका छन्, अबको सरकारले नेपाल नीतिबारे गम्भीर समिक्षा गर्न सक्छ।”

तर त्यो भनेजति सहज देखिदैन किनभने साउथ ब्लक पनि भनिने भारतको विदेश मन्त्रालयले सञ्चालन गर्ने विदेश नीति सीतिमिति बदलिदैँन र त्यसको निर्धारणमा राजनीतिज्ञहरुको कम, प्रशासकहरुको बढी भुमिका हुने गर्छ।

सत्ताबाट बहिर्गमीत कंग्रेसको नेतृत्वमा रहेको संयुक्त प्रगतिशिल गठबन्धनले तत्कालीन मओवादी विद्रोहि र संसदवादी दलहरुबीच २०६२ सालमा १२ बुँदे समझदारी गराउन मुख्य भूमिका खेलेको थियो।

त्यही सहमति पश्चात नेपालमा राजनीतिक उथलपुथल भयो, राजसंस्था ढल्यो र धर्मनिरपेक्ष राष्ट्र हुदैँ नेपाल गणतन्त्रसम्म आइपुग्यो।

संविधानसभाबाट नयाँ संविधान लेख्ने उक्त समझदारीले तय गरेको मार्गचित्रमा भने दुई पटक संविधानसभाको चुनाव भैसक्दा पनि अन्यौल नै देखिएको छ।

राजनीतिक वृत्तका धेरै जना मोदी सत्तामा आएपनि दिल्लीको नेपाल नीति नफेरिने विश्वास गर्छन्।

त्यस्तो धारणा राख्ने मध्येका एक एकीकृत माओवादीका नेता राम कार्की भन्छन्, “भारतमा प्रशासन संयन्त्रले नै विदेश नीति निर्धारण गर्छ मोदीका आफ्नै सीमाहरु हुन्छन् त्यही भएर खासै फेरबदल हुँदैन।”

राजतन्त्र

नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो वर्ष गुजरातको भ्रमण गर्दै त्यहाँका मुख्य मन्त्री रहेका मोदीलाई भेटेका थिए।

सो भेट लगत्तै थापालाई उदृत गर्दै भारतका प्रधानमन्त्रीका आंकाँक्षी नेपाल हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा रहेको खबरहरु प्रकाशमा आएका थिए।

बीबीसीसँग कुरा गर्दै थापाले भने, “मोदी जी र राजनाथ जी दुवैले उहाँहरुले नेपाललाई हिन्दु राष्ट्रको रुपमा हेर्न चाहेको कुरा लुकाउनु भएको छैन्, तर नेपाल हिन्दु राष्ट्र हुने कि नहुने भन्ने कुरा नेपालीहरुले निर्णय गर्ने हो कुनै विदेशीले होइन।”

तस्वीर कपीराइट AP
Image caption गणतन्त्र आएपछि पूर्व राजा ज्ञानेन्द्रले मोदीलाई भेटेका छन्

हिन्दु धार्मिक विश्वासका आधारमा नेपालका राजाहरुलाई भगवान विष्णुको अवतारका रुपमा लिने गरिएको थियो। त्यही भएर राजतन्त्रको पुनर्स्थापना र हिन्दुत्वको राजनीतिबीच साइने हुन सक्ने कतिपयको आँकलन छ।

नेपाल गणतन्त्रात्मक शासन व्यवस्थामा गैसकेपछिपनि पूर्व राजा ज्ञानेन्द्रले मोदी र उनका दलका अध्यक्ष राजनाथ सिंहसँग छुट्टा छुट्टै भेटेका छन्।

अहिले नागार्जुन डाँडामा उपलब्ध गराइएको एउटा सरकारी आवासमा बसिरहेका पूर्व राजा ज्ञानेन्द्रले प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आलंकारीक राजसंस्थाको निरन्तरतामा जोड दिएको ठानिन्छ।

पत्रकार घिमिरे ०६३ सालको जनआन्दोलनको समयमा भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा काठमान्डू आएका कंग्रेस आइका नेता करण सिंह मार्फत दिल्लीले प्रत्यक्ष शासन त्यागे नेपालमा आलंककारीक राजतन्त्र कायमै रहने विश्वास पूर्व राजालाई दिलाएको बताउँछन्।

“त्यतिबेला भारतले नेपालमा नराम्रोसँग हस्तक्षेप गरेको थियो भन्ने मत भारतीय जनता पार्टी भित्रपनि छ र त्यहाँ भित्र भैरहेका बहसमा कतिपय नेताहरुले आफूले दिएको आश्वासन विपरित उभिएपछि नेपालमा भारतको छवि बिग्रेको समेत बताउने गरेका छन्।”

तर एकीकृत माओवादीका नेता कार्की मोदी शासनमा आएकै कारण नेपालमा राजतन्त्र नफर्कनेमा ढुक्क छन्।

उनको बुझाइ छ, “नेपालको धार्मिक विविधताको बारेमा धेरै भाजपाका नेताहरुलाई नै थाहा छैन, यहाँ लामो समयसम्म राजतन्त्रात्मक शासन व्यवस्था थियो त्यही भएर अहिले पनि धेरैलाई नेपाल हिन्दु अधिराज्य नै हो भन्ने भ्रम छ।”

सबैका आ आफ्नै दावी रहेपनि मोदीको जीत प्रति राजावादीहरु र हिन्दु राष्ट्र पक्षधर शक्तिहरु सबैभन्दा बढी प्रशन्न भएको ठानिन्छ।

अपेक्षा

कतिपयले मोदी प्रधानमन्त्री बनेपछि उनले कर्मचारीतन्त्र र बेला बेलामा विवादमा तानिने भारतको खुफिया संयन्त्रको साटो राजनीतिक तहबाट काठमान्डूलाई हेर्नुपर्ने माग गरेका छन्।

राजनीतिक नेतृत्वले काठमान्डूलाई कम प्राथमिकतामा राख्दा नेपाल अस्थिरताको भुमरीमा अझ फँस्दैँ गएको त्यस्तो मत राख्नेहरुको भनाई छ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष थापा भन्छन्, “भारत र नेपालको राजनीतिक नेतृत्वको तहमा निरन्तर सम्वाद हुनु दुवै देशको हितमा छ।”

हुन पनि हो, एकाधलाई छाडेर नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्री प्रमुख कार्यकारीको हैसियतमा दिल्लीको भ्रमणमा गएका छन्।

तर दिल्लीबाट खासै टाढा नरहेको काठमान्डू भारतका प्रधानमन्त्रीले नटेकेको १ दशक भन्दा बढि भैसक्यो।