तीनहजार चिनिया नागरिकको उद्दार

  • 18 मे 2014
तस्वीर कपीराइट
Image caption विवादास्पद समुद्री क्षेत्रलाई लिएर भियतनाममा चिन विरोधी हिंसात्मक प्रदर्शन भएका छन्

विवादित समुन्द्री भुभागबाट तेल उत्खनन् गरिएको भन्दै भियतनाममा चीन बिरोधी दंगा फैलिएपछि बेइजीगंले त्यहाँबाट आफ्ना तीन हजार भन्दा बढि नागरिकलाई उद्दार गरेको छ।

चीनको सरकारी समाचार संस्था सिन्हवाले थप नागरिकहरुलाई स्वदेश फर्काउन बेइजीगंले चार्टर्ड फ्लाइट र पानीजहाजहरुको व्यवस्था गरिरहेको जनाएको छ।

विवादित समुन्द्री क्षेत्रबाट तेल उत्खनन् गर्ने सम्बन्धी विवाद चर्किएपछि भियतनाममा कम्तीमा दुई चिनियाँ नागरीकको ज्यान गएको छ भने झन्डै एक सय जना घाइते भएका छन्।

शनिबार भियतनाम सरकारले सो क्षेत्रमा जारी आन्दोलन बन्द गर्न आग्रह गरेको थियो। ‍

आगजनी

अधिकारीहरुले राष्ट्रिय स्थिरतामा नै खलल पुर्याउने हुदाँ कुनै पनि गैरकानुनी गतिविधि बन्द गरिने बताएका छन्।

तर असहमत पक्षहरुले मानिसहरुलाई आइतवार पनि मुख्य शहरहरुमा र्याली निकाल्न अपिल गरेका छन्।

पछिल्ला दिनमा भीडले कैयौं भियतनामी औद्योगिक क्षेत्रमा रहेका चिनियाँ, ताइवानी र दक्षिण कोरियाली सहित कम्तीमा १५ वटा विदेशी स्वामित्वका कारखानामा आगजनी गरेका छन्।

सम्वाददाताहरु भन्छन्, पछिल्ला आक्रमणहरुले अधिकारीहरुलाई चिन्तित बनाएको छ किनभने हनोइको अर्थतन्त्र विदेशी लगानीमा निर्भर हुदैँ गएको छ।

कारवाही माग

चीनले दंगाकारीहरुमाथि कडा कारवाही गर्न माग गरेको छ।

चिनियाँ सुरक्षा निकायका एक जना प्रमुखले शनिवार सिन्ह्वा समाचार संस्थासँग भनेका छन्, "हामी भियतनामी पक्ष तनाव कम गर्न असफल भएकोमा एकदमै असन्तुष्ट भएका छौँ"।

चिनियाँ पक्षले साउथ चाइना सिमा रहेको विवादीत स्थानमा आफ्नो एउटा तेल उत्खन्न केन्द्र सन्चालनमा ल्याएपछि आन्दोलनहरु सुरु भएका थिए।

भियतनामले उक्त कदम रोक्ने प्रयास गरेपछि यसै महिनाको सुरुमा चिनियाँ र भियतनामी पानी जहाजहरु बीच मुठभेडको स्थिति सृजना भएको थियो।

भियतनाम र ताइवानले समेत आफ्नो भनेर दाबी गर्ने पार्सल टापूको पश्चिममा रहेको सो क्षेत्रमा उत्खनन् जारी राख्ने चिनले बताएको छ।

सम्वाददाताहरुका अनुसार सो बिषयलाई लिएर भियतनाममा राष्ट्रवादी भवना बढ्दै गएको छ।