'एन्टार्टिकामा बरफ पग्लिने क्रम दोब्बर'

  • 19 मे 2014
Image caption बदलिँदो हावापानीका कारण बरफ पग्लिने क्रम बढ्दै गएको वैज्ञानिकहरुले बताएका छन्

एन्टार्कटिका महादेशमा वर्षेनी १ खर्ब ६० अर्ब टन बरफ पग्लिएर समुद्रमा मिसिने गरेको एउटा नयाँ अध्ययनले देखाएको छ।

उक्त महासागरमा अन्तिम पटक सर्वेक्षण गरिएकोभन्दा यो दुई गुणाले बढी भएको बताइएको छ।

युरोपको क्रायोस्याट अन्तरिक्षयानबाट यस्तो निर्क्यौल गरिएको हो।

सो अन्तरिक्षयानलाई बरफपत्रको आकार मापन गर्नका निम्ति रेडार राखेर विशेष रुपमा बनाइएको छ।

एन्टार्कटिकामा जारी बरफ पग्लिने क्रम विश्वव्यापी समुद्री सतहमा प्रत्येक वर्ष शून्य दशमलव ४३ मिलिमिटरले वृद्धि गर्नका लागि पर्याप्त हुने जनाइएको छ।

जियोफिजिकल रिसर्च लेटर्स नामक जर्नलमा वैज्ञानिकहरुको ती विवरणहरु प्रकाशित गरिएको छ।

हिउँ

उक्त अध्ययनमा सन् २०१० देखि १३ सम्म गरिएका मापन र सन् २००५ देखि २०१० सम्मको अवधिमा अरु भू-ग्रहबाट गरिएका अवलोकनका संश्लेषणहरु समेटिएको बताइएको छ।

हिउँ पर्दा बढ्ने र पग्लिदा घट्ने हुने गरेकोले क्रायोस्याटले बरफपत्रको उचाई नाप्ने यन्त्रबाट मापन गर्दै आएको छ।

अध्ययनकर्ताहरुले उक्त महादेशलाई पश्चिमी एन्टार्कटिका , पूर्वी एन्टार्कटिका र एन्टार्कटिका प्रायद्वीप गरी तीन क्षेत्रमा विभाजन गरेर अध्ययन गरेका थिए।

एन्टार्कटिका प्रायद्वीपको भूभाग दक्षिण अमेरिकासँग जोडिएको छ।

समग्रमा तीनवटै क्षेत्रमा औषत वार्षिक करीब २ सेन्टिमिटरले बरफपत्र पग्लिने गरेको सो अध्ययनले देखाएको छ।

तीनवटै क्षेत्रमा प्रत्येक वर्ष क्रमशः १ खर्ब ३४ अर्ब टन, ३ अर्ब र २३ अर्ब टन बरफ पग्लिने गरेको बताइएको छ।

अघिल्ला अध्ययनले अपवादमा हुने हिमपातले पूर्वी क्षेत्रमा बरफको मात्रा बढाएको देखाए पनि नयाँ सर्वेक्षणमा त्यो स्थिर रहेको देखिएको छ।

अपेक्षा गरिएअनुसार नै पूर्वी क्षेत्रमा बरफको मात्रा बढी घटेको देखिएको छ।

जोखिम

वैज्ञानिकहरुले बरफ पग्लिनेमा सबैभन्दा बढी उक्त क्षेत्र जोखिममा रहेको बताउँदै आएका थिए।

त्यहाँ एमण्डसेन सि एम्बेमेन्ट नामक क्षेत्र छ, जहाँ रहेका विशाल ६ वटा हिमनदीहरु तीव्र गतिमा पग्लिरहेका छन् र समुद्रबाट गईरहेको तातो पानीबाट तिनीहरुको क्षयीकरण भईरहेको छ।

जुन बदलिँदो हावापानी परिवर्तनका कारण भएको वैज्ञानिकहरुले बताएका छन्।

सो अध्ययनका प्रमुख लेखक लिड्स विश्वविद्यालयस्थित सेन्टर फर पोलार अब्जरभेसन एण्ड मोड्लिंगका डा. माल्कोम म्याकमिल्लानले भने, ''क्राइयोस्याटले विगत ३ वर्षमा एन्टार्कटिकामा कसरी परिवर्तन आएका छन् भन्ने हामीलाई बुझाई र समग्र महादेशको अध्ययन गर्नुपर्ने सुझाव दिएको छ।''

युरोपेली अन्तरिक्ष एजेन्सीले सन् २०१० मा ध्रुवहरुमा भइरहेका परिवर्तनबारे मापन गर्ने उद्देश्यले क्रायोस्याट पठाएको थियो।

त्यसका लागि उक्त अन्तरिक्षयानमा नवीन रेडार प्रणाली स्थापित गरिएको थियो।