‘भट्टराई केन्द्रिय समितिमा फर्किन तयार’

  • 19 मे 2014
Image caption आपसी द्वन्द्व बढ्दै जाँदा प्रचण्ड र भट्टराई दुबैले मोहन वैद्यसँग एकताको चर्चा चलाएका छन्

नेता बाबुराम भट्टराई सहित उनी पक्षधर असन्तुष्ट नेताहरु सहभागी हुन तयार भएपछि एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक आजदेखि बस्ने उक्त दलले जनाएको छ।

अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच वैचारिक तथा सांगठनिक मतभेद बढेपछि बैठक सरिरहेको थियो।

चिसिदै गएको सम्बन्धका माझ दुई नेताबीच हिंजो भएको छलफलपछि त्यस्तो वातावरण बनेको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताए।

गठन

प्रवक्ता शर्माले भने, “केन्द्रिय समितिमा बाबुरामजी सहित १५ जना साथीहरु आउने सल्लाह भएको छ, पदाधिकारी सकेसम्म कम राख्ने कुरा छ, प्रतिनिधित्वको विषयमा बाबुरामजीको माग अलि बढि नै होला तर दुई नेताले छलफल गरेर विवाद मिलाउनु हुन्छ।”

हालै सम्पन्न राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डसँग असहमति जनाउँदै भट्टराई पक्षधर १५ जना नेताहरुले केन्द्रिय समितिमा बस्न अस्वीकार गरेका थिए।

भट्टराई पक्षधर नेताले पनि बैठकमा सहभागी हुने सम्भावना बढेको बताएका छन्।

एकीकृत माओवादीभित्र बिराटनगर राष्ट्रिय सम्मेलनले ९९ सय सदस्यीय केन्द्रिय समिति गठन गरिसकेको छ।

अब उक्त समितिले आफ्ना सदस्य १५१ पुर्याउँदै पदाधिकारी, पोलिटब्युरो गठन गर्नेछ।

प्रस्ताव

पदाधिकारीको संख्या बढीमा नौ जनासम्म हुन सक्ने चर्चा चलिरहेको छ।

भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले पदाधिकारीमा कम्तिमा तीनजना आफ्नो पक्षका नेता हुनु पर्ने प्रस्ताव राखेको जानकारी दिए।

उनले आफ्नो पक्षको मागबारे भने, “केन्द्रिय समितिमा यति नै हुनुपर्छ भनेका छैनौं, तर बरिष्ठ साथीहरु छुट्नु भएन्, भट्टराईजी सहित हामी मिलेर केन्द्रिय समितिमा जाने नै सम्भावना बढेको छ।”

पार्टीभित्र आफूहरुबीच संघर्ष चर्किरहँदा दुई वर्ष अघि टुक्रिएको मोहन वैद्य नेतृत्वको माओवादीसँगको एकताबारे पनि प्रचण्ड र भट्टराई दुबैले चर्चा गरिरहेका छन्।