नाइजेरियामा भएको विष्फोटमा पाँचको मृत्यु

  • 19 मे 2014
कानो शहर, फाइल फोटो तस्वीर कपीराइट AFP
Image caption कानो शहरमा गत वर्षको जुलाईमा पनि विष्फोट गराइएको थियो

नाइजेरियाको उत्तरी शहर कानोका प्रहरीले भनेको छ थुप्रै बार तथा रेष्टुरेन्टहरु रहेको एउटा इलाकामा गराइएको कार बम विष्फोटमा परी कम्तीमा पाँचजनाको ज्यान गएको छ।

क्रिश्चियन बाहुल्य उक्त साबोन गारी क्षेत्रलाई हाल प्रहरीले घेरेर राखेको छ।

सो क्षेत्रलाई विगतमापनि पटक पटक इस्लामवादी विद्रोही समूह बोको हरामले आफ्नो निशानामा पार्दै आएको थियो।

शक्तिशाली

विष्फोट शक्तिशाली थियो। जुन कारमा विष्फोट गराइयो त्यसको केवल इञ्जिनमात्र सग्लो बाँकि रहेको देखिन्छ।

गएको एक वर्ष यतादेखि कानोमा हिँसा भएका थिएनन्।

सुरक्षा कारवाही चलाइएपछि हिँसा कम भएका थिए।

गत वर्षको मार्च महिनामा बस स्टेसनमा विष्फोट गरिएको थियो भने सन् २०१२ को जनवरीमा बोको हराम समूहले डेढ सय मानिस मारिने गरी श्रृँखलाबद्ध हमला गरेको थियो।

पछिल्लो आक्रमण नाइजेरियाली सरकारले आफ्ना छिमेकी मुलुकहरुसँगको समन्वयमा बोको हराम विरुद्ध कारवाही थाल्ने बताएपछि गरिएको छ।

सो विद्रोही समूहले हाल २ सयभन्दा बढी अपहरित स्कूले छात्राहरुलाई कब्जामा लिइराखेको छ।

उनीहरुलाई गत महिना उत्तरपूर्वी नाइजेरियाको दुर्गम वस्तीबाट अपहरण गरिएको थियो।

अमेरिका, ब्रिटेन, फ्रान्स लगायतका कैयौँ मुलुकहरुले ती छात्रालाई उद्वार गर्न नाइजेरियालाई सहयोग गर्ने बताएका छन्।

सप्ताहान्तमा पेरिसमा भएको बैठकमा अफ्रिकि नेताहरुले बोको हरामविरुद्ध युद्ध गर्न गुप्तचरी सूचना तथा सँयुक्त कारवाही गर्ने सहमति गरेका थिए।