'सत्तापलट गरेको होइन'

  • 20 मे 2014
तस्वीर कपीराइट AFP
Image caption सैनिक कानून लागु भएसँगै थाइ सेनासँग व्यापक शक्ति रहने बताइएको छ

थाइल्याण्डमा मंगलबारदेखि सैनिक कानून लागु गरेको त्यहाँको सेनाले सो सत्तापलट नभएको जनाएको छ।

थाइ सैनिक प्रमुखले देशमा जारी संकट अन्त्यका लागि एक अर्कासँग संवाद गर्न प्रतिद्वन्दवी राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन्।

सेनाले सत्तापलट नभएको बताए पनि उनीहरुसँग अहिले व्यापक शक्ति रहेको बताइएको छ।

दलहरुबीच जारी द्वन्द्वका कारण थाइल्याण्डमा विगत ६ महिनयता राजनीतिक संकट जारी छ।

देशमा सुव्यस्था कायम राख्नका लागि भन्दै थाइ सेनाले त्यहाँ जारी राजनीतिक संकटबीच सैनिक कानून लागु गरेको हो।

सत्तापलट

तर आश्चर्यजनक ढंगमा चालिएको उक्त कदम सत्तापलट नभएको सेनाले जनाएको छ।

सो कदमपछि कार्यवाहक प्रधानमन्त्रीले कुनै हिंसा ननिम्त्याई संविधानको दायराभित्र रहेर काम गर्न सेनालाई आग्रह गरेका छन्।

सैनिकहरुले टेलिभिजन र रेडियो स्टेशनहरु नियन्त्रणमा लिएका छन् र राजधानी बैंककका सडकहरु बन्द गराएका छन्।

सरकार र विपक्षी दलहरुबीच महिनौंदेखिको तनाव चुलिँदै गएका बेला सेनाले सैनिक कानून लागू गरेको हो।

सेनाको उक्त कदमले सरकार समर्थकहरुलाई क्रुद्ध बनाउन सक्ने संवाददाताहरु बताउँछन्।

सन् १९३२ मा थाइल्याण्डमा निरंकुश राजतन्त्रको अन्त्य भएयता त्यहाँको सेनाले कम्तीमा ११ पटक सत्तापलट गरिसकेको छ।

थाइ सैनिक जनरल प्राइओत् जानोत्चाले राजनीतिक संकट अन्त्यका निम्ति वार्ता गर्न दलहरुलाई आग्रह गरेका छन्।

सुव्यवस्था

उनले भने, "थाइ शाही सेनाले सबै थाइहरुको यो प्यारो मुलुकमा यथासक्दो चाँडै शान्ति-सुव्यवस्था कायम गर्न चाहेको छ। मुलुकको समस्याको दीर्घकालीन समाधानको प्रक्रियामा प्रवेश गर्नका निम्ति सबै पक्ष र समूहलाई आफ्ना गतिविधि रोक्न आग्रह गर्छौं। आमनागरिकलाई नआँत्तिन र सामान्यरुपमा आफ्ना काम कर्तव्यलाई अघि बढाउनका लागि हामी आग्रह गर्छौं।"

उनले शान्ति-सुव्यवस्था पुनर्वहाली नहुञ्जेल सैनिक कानून लागू रहने त्यहाँका सरकारका अधिकारीहरुलाई जानकारी गराएका छन्।

सेनाले राष्ट्रिय सुरक्षाका लागि भन्दै सञ्चारमाध्यममा सेन्सरशीपको आदेश समेत दिएको छ।

त्यस्तै झडप हुन नदिन भन्दै सरकार समर्थक र विपक्षी दुवै पक्षलाई प्रदर्शन नगर्न सेनाले भनेको छ।

सेनाद्वारा सञ्चालित टेलिभिजनमार्फत सबैभन्दा पहिले सैनिक कानूनको घोषणा गरिएको थियो।

सेनाको घोषणापछि थाइ सट्टाबजार ओरालो लागेको छ भने त्यहाँको मुद्रा भाटको मूल्य घटेको छ।

थाइल्याण्डको ठूलो लगानीकर्ता जापानले राजनीतिक अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै संयम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।