आरोहणका लागि थप हिमालहरु खुल्ला

  • 21 मे 2014
तस्वीर कपीराइट AFP
Image caption सरकारले पर्यटन प्रवर्द्धन भन्दै यसअघि क्रमिक रुपमा हिमालहरु आरोहणका लागि खुल्ला गरिएको थियो।

सरकारले थप १ सय ४ वटा हिमालहरु पर्वतारोहणको लागि खुल्ला गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिले पर्वतारोहण र पदयात्राका माध्यमबाट पर्यटकको आवागमन वृद्धि हुने भन्दै थप पदयात्रा मार्गहरु समेत परिक्षणको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

सगरमाथा क्षेत्रमा आएको हिउँपहिरोमा परी १३ शेर्पा आरोहण सहयोगीहरुको निधन भएपछि यसपालीको पर्वतारोहण यामनै खल्लो भएका बेला सरकारले नयाँ हिमालहरु खोल्ने निर्णय गरेको छ।

अनुमति

नेपालमा भएका ६ हजार मिटर भन्दा बढी उचाइका १३ सय १० हिमाल मध्ये यसअघि ३२६ वटा हिमालहरुमा मात्रै पर्वतारोहण गर्ने अनुमति सरकारले दिएको थियो।

विभिन्न धार्मिक र साँस्कृतिक महत्व भएका हिमालहरुलाई पर्वतारोहणको अनुमति दिँदै जाने क्रममा सरकारले बुधबार थप १ सय ४ हिमालहरुमा पर्वतारोहण गर्न खुल्ला गरिने निर्णय गरेको हो।

निर्णयबारे पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटीले भने, “पहिला भएका ३ सय २६ हिमालमा हामीले अरु १ सय ४ हिमाल थप्ने र पहिला ५५ सय मिटर उचाइसम्म मात्र पदयात्रा गर्न पाइन्थ्यो भने अब त्यसलाई हामीले ५८ सय मिटरसम्म पुर्याउने निर्णय गरेका छौं।”

योगदान

थप हिमालहरु आरोहण गर्न चाहने थुप्रै अन्तराष्ट्रिय पर्वतारोही भएको बेला सरकारको यो निर्णयले पर्यटन प्रवर्द्धनमा थप मद्दत गर्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ छिरी शेर्पाले बताए।

उनले भने, “यो हिमालहरु विशेष गरेर अन्तराष्ट्रिय पर्वतारोहीकै माग अनुसार थपिएकोले अब पर्वतिय पर्यटकको वृद्धि हुन्छ।”

सरकारले पहिला भएका ३ सय २६ मध्ये १६ वटा हिमालहरुको नाम दोहोरिएको भन्दै त्यसलाई हटाउने निर्णय समेत गरेको छ।

त्यस्तै तेन्जिङ नर्गे शेर्पा र सर एडमन्ड हिलारीले नेपालको पर्वतारोहण पर्यटनमा ठूलो योगदान पुर्याएको भन्दै उनीहरुको नामबाट हिमालको नाम राखि तिनलाई पर्वतारोहणका लागि खुल्ला गरिएको छ।