राप्रपा नेपालको प्रथम महाधिवेशन शुरु

  • 24 मे 2014
Image caption महाधिवेशनको उद्घाटनसत्रमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितालाई लिएर शीर्ष नेताहरु हर्षित देखिन्थे

हिन्दु राज्य र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राजधानी काठमाण्डुमा शनिबारदेखि शुरु प्रथम महाधिवेशनमा सो दलका नेताहरुले धर्मनिरपेक्षता र गणतन्त्र घोषणा गर्ने गरी विगतमा भएका सहमतिको चर्को आलोचना गरेका छन्।

उल्लेख्य संख्यामा रहेका नेता कार्यकर्ताहरुको सहभागितामा सो पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशनको उद्घाटन गरे।

गत मंसिरमा भएको दोश्रो संविधानसभाको चुनावबाट चौथो ठूलो राजनीतिक शक्तिको रुपमा उदाएको सो दलको चार दिनसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन र पार्टीको कार्यदिशा अनुमोदन गर्ने एक नेताले बताए।

काठमाण्डुको खुलामञ्चमा बनाइएको मञ्चको अग्रस्थानमा पृथ्वीनारायण शाहको ठूलो तस्वीर र माथिपट्टि हिन्दुहरुको भगवान शिव तथा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध अनि किरात धर्मगुरुको तस्वीरहरु राखिएका थिए।

राजतन्त्र

विभिन्न राजनीतिक दलका प्रतिनिधि, केही मुलुकका कूटनीतिज्ञ र राप्रपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थितिमा हिन्दु वटुक तथा बौद्ध भिक्षुहरुद्वारा स्वस्तिवाचन र त्यसपछि शंखघोष गरिएपछि अध्यक्ष थापाले महाधिवेशनको उद्घाटन गरे।

उद्घाटनसत्रलाई संबोधन गर्दै थापाले आफ्नो दलको मूल नीति प्रष्ट्याउँदै भने, ''अब बन्ने संविधानमा राजतन्त्रलाई पनि स्थान दिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो। हामीले भनेकै भाषा र शैलीमा हुन सक्दैन भने पनि हामी त्यसलाई स्वीकार गर्न सक्छौं।''

मुलुकले गणतन्त्र र धर्मनिरपेक्षता अंगीकार गरिसके पनि संवैधानिक राजतन्त्र र हिन्दु राज्यको नीति नत्यागेको राप्रपा नेपालको महाधिवेशनले प्रस्तावित १२७ केन्द्रीय समितिका सदस्यहरुमध्ये अध्यक्ष र ६३ सदस्य निर्वाचित गर्ने नेताहरुले बताएका छन्।

कार्यदिशा

त्यसबाहेक जारी महाधिवेशनले अवलम्बन गर्ने नीति र कार्यदिशाबारे सो पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने, ''यो महाधिवेशनले विगत आठ वर्ष हामीले जुन नीति लिएर हिँड्यौं त्यसलाई अनुमोदन गर्नेछ। नाम परिवर्तनको एजेण्डा पनि प्रस्तुत हुनेछ।''

त्यसो त राप्रपा नेपालभित्र समानुपातिकतर्फका सभासदहरुको मनोनयनका क्रममा विवाद भएपछि केही केन्द्रीय सदस्यहरुले छुट्टै पार्टी गठन गर्ने घोषणा नै गरेका थिए।

पछि ती विवाद साम्य भए।

पछिल्लो समय पूर्वपञ्च र राजावादीहरु पार्टीमा हावी हुँदै गएको भनी कतिपय युवा नेताहरुले गरेको गुनासोकाबीच जारी महाधिवेशनले तय गर्ने भावी नीति र कार्यदिशा महत्वपूर्ण हुने कतिपयको भनाई छ।