एमाओवादीमा पोलिटब्यूरो सदस्य चयन

  • 25 मे 2014
तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption बाबुराम भट्टराई पक्षीय नेताहरुले भावी कदमबारे छलफल जारी रहेको बताएका छन्

पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधर नेताहरु निर्वाचनमा सहभागी नभए पनि एकीकृत नेकपा माओवादीले उनीहरुसहित ५० जना पोलिटब्यूरो सदस्य चयन गरेको छ।

भट्टराई पक्षधर नेताहरुको सहभागीता नभए पनि उनी लगायत अधिकांश पुरानै नेताहरु पोलिटब्यूरोमा निर्वाचित भएको एक निर्वाचन अधिकृतले बताए।

केन्द्रीय समितिमा मात्र सहभागी हुने बताएको भट्टराई पक्षधर एक नेताले आफ्ना पक्षको भावी कदमबारे छलफल जारी रहेको बताएका छन्।

राजधानी काठमाण्डुको पेरिसडाँडास्थित एकीकृत माओवादीको केन्द्रीय कार्यालयमा भएको मतदानमा कुल १ सय ५१ केन्द्रीय सदस्यहरुमध्ये १ सय १६ जनाले मात्र मतदान गरेका थिए।

मतदान

भट्टराई पक्षधर २७ जना केन्द्रीय सदस्यले मतदान गरेनन् भने ८ जना अनुपस्थित भएको निर्वाचन अधिकृत रामनारायण बिडारीले बताए।

उनले भने, ''प्रायः पुराना सबै पोलिटब्यूरो सदस्यहरु निर्वाचित भएका छन्। बाबुराम भट्टराईदेखि लिएर नारायणकाजी श्रेष्ठले धेरै मत ल्याएका छन्।''

स्थायी समिति सदस्य र पदाधिकारीका लागि सोमबार निर्वाचन गरिने निर्वाचन अधिकृत बिडारीले बताएका छन्।

पोलिट ब्यूरो सदस्यहरुले स्थायी समिति सदस्य चयन गर्नेछन् भने स्थायी समिति सदस्यहरुले पादधिकारी छनौट गर्नेछन्।

निर्वाचन कार्यविधि अनुसार सबै केन्द्रीय सदस्यहरु उम्मेदवार हुन पाउने र मतदान गर्न पाउने भए पनि पूर्वनिर्णय अनुसार भट्टराई पक्षीय केन्द्रीय सदस्यहरुले मतदान गरेनन्।

असन्तुष्टि

निर्वाचन प्रक्रियाप्रति नै आफूहरुको असन्तुष्टि रहेको भन्दै मतदान नगरेको भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले बताएका छन्।

तर निर्वाचन प्रक्रियामा सहभागी नभए पनि चुनिन सकिने भएकोले त्यस्तो अवस्थामा तपाईहरुले के गर्नुहुन्छ भनी जिज्ञासा राख्दा पौडेलको भनाई थियो, ''केन्द्रीय समिति आफै मनोनित भएको हुँदा मनोनित केन्द्रीय समिति निर्वाचनको कुनै अर्थ हुँदैन भनेर हामीले विमति राखेका छौं। के गर्ने भन्ने कुरा सल्लाह गरेर हामीले सार्वजनिक गर्नेछौं।''

यसअघि विराटनगरमा गत महिना भएको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच कुरा नमिल्दा अध्यक्ष बाहेक अरु नेताहरु चयन हुन सकेका थिएनन्।

केन्द्रीय समितिमा पनि आफूहरु नबस्ने बताएका भट्टराई र उनी पक्षधर नेता प्रचण्डसँगको सहमतिपछि गत साता सहभागी हुन राजी भएका थिए।

तर त्यसको एक साता पनि नबित्दै पोलिटब्यूरो र पदाधिकारीमा नबस्ने बताउँदै उनीहरुले वैचारिक विषयलाई महाधिवेशनमा लैजाने भनेका छन्।