युक्रेनमा महत्वपूर्ण राष्ट्रपतीय चुनाव

  • 25 मे 2014
तस्वीर कपीराइट Getty
Image caption रुसले युक्रेनको जस्तोसुकै चुनावी परिणामलाई स्विकार गर्ने बताएको छ

महिनौं देखी तनावग्रस्त रहँदै आएको युक्रेनमा नयाँ राष्ट्रपति चयनका लागी मतदान भैरहेको छ।

देशको पूर्वी क्षेत्रमा सरकारी सुरक्षा फौजले रुस समर्थक पृथकतावादीहरुसँग लडिरहँदा हुन लागेको चुनावमा १८ जना उम्मेदवारहरु प्रतिष्पर्धा गरिरहेका छन्।

युक्रेनमा सरकार विरोधी प्रदर्शनहरुलाई समर्थन गरिरहेको आरोप खेपिरहेको रुसले चुनावी परिणामलाई स्विकार्ने बताइसकेको छ।

पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको बर्खास्तीका कारण यसै बर्षको सुरुदेखि सुरु भएको राजनीतिक तनाव कम गर्दै युक्रेनलाई एकताबद्ध बनाउन यो चुनावलाई एउटा महत्वपूर्ण कडि भनेर व्याख्या गरिदैँ आएको छ।

चेतावनी

तर रुस समर्थक पृथकतावादीहरुले चुनावी परिणामलाई आफूहरुले मान्यता नदिने र मतदान प्रकृयालाई विथोल्ने प्रयास गर्ने चेतावनी दिएका छन्।

विगत केही दिन यता सरकारी सुरक्षा फौज र विद्रोहीबीच भएको भीडन्तमा कम्तिमा २० जनाले ज्यान गुमाएका छन्।

राष्ट्रपति पदमा निर्वाचित हुने उम्मेद्वारले कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्छ।

अन्यथा अबको दुई हप्तापछि दोस्रो चरणको चुनाव गराइनेछ।

चकलेट किगं पनि भनिने ठूला मिठाइ व्यवसायी पेत्रो पोरोसेन्को सबैभन्दा शक्तिशाली उम्मेदवारका रुपमा देखाइएका छन्।

सर्वेक्षणहरुका अनुसार उनलाई पूर्व प्रधानमन्त्री युलिया तिमेसेन्कोले पछ्याइ रहेकी छन्।

परिणामको सम्मान

शनिबार टेलिभिजन मार्फत देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आरसेनी यात्सेनयुकले जनतालाई भोट खसालेर देशको रक्षा गर्न अपिल गरेका थिए।

उनले भने, “यो चुनावले पश्चिम, पूर्व, दक्षिण र उत्तर सबैतिरका युक्रेनीहरुको भावना प्रतिनिधित्व गर्नेछ।”

एउटा अस्वभाभिक कदममा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले शुक्रबार मस्कोले जस्तो सुकै चुनावी परिणामलाई सम्मान गर्ने र नयाँ राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताएका थिए।

रुसको भनाई किएभ र उसका पश्चिमा साझेदार शक्ति राष्ट्रहरुले पृथकतावादी गतिविधिहरुमा मस्कोको हात रहेको भन्ने आरोप लगाइरहँदा आएको हो।

राष्ट्रपति पुटिनले युक्रनेमा रुसले हस्तक्षेप नगरेको बताउने गरेका छन्।

सुरक्षा

चुनावको पर्यवेक्षणका लागी युरोपको सुरक्षा साझेदारी सम्बन्धी निकाय ओएससिइले झन्डै १ हजार जना पर्यवेक्षकहरुलाई खटाएको छ।

तर सुरक्षा चिन्ता व्यक्त गर्दै पूर्वी दोनेत्सक क्षेत्रबाट उसले आफ्ना अधिकांश पर्यवेक्षकहरुलाई फिर्ता गरेको छ।

केही रुस समर्थक पृथकतावादीहरुले मानिसहरुलाई मत नहाल्न चेतावनी दिएका छन् र कतिपय स्थानमा बन्दुक देखाएर मतपत्र लगायत चुनाव सामाग्री खोसिएको पनि जनाइएको छ।

युक्रेनबाट आफूलाई स्वतन्त्र घोषणा गरेको दोनेत्सक गणतन्त्रका एक नेताले चुनाव विथोल्न आवश्यक परे बल समेत प्रयोग गर्न सक्ने एएफपी समाचार संस्थासँग बताएका छन्।

चुनावी सुरक्षाका लागि करीव ७५ हजार प्रहरी र स्वयंसेवकहरु परिचालन गरिएको जनाइएको छ।