अप्रत्यासित रुपमा ओबामा अफगानिस्तानमा

  • 26 मे 2014
Image caption ओबामाले मेमोरियल डेको अवसरमा अफगानिस्तानमा रहेका सैनिकहरुलाई भेटेेका हुन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै सन् २०१४ भित्र अमेरिकाले सबैभन्दा लामो समयसम्म लडेको युद्ध तार्किक रुपमा अन्त्य हुने बताएका छन्।

पुर्व घोषणा बिना अफगानिस्तान पुगेका ओबामा काबुल बाहिरको बाग्राम हवाइ अड्डामा ओर्लदा अमेरिकी सैनिकहरुले स्वागत गरेका थिए।

अमेरिकीहरुले लडाँइमा ज्यान गुमाएका सैनिकहरुको सम्मानमा मेमोरियल डे मनाउने तयारी गरिरहँदा राष्ट्रपति ओबामा अफगानिस्तान गएका हुन्।

सम्झौता

अफगानिस्तानबाट बिदेशी सैनिकहरु यसै बर्षको अन्त्यमा फर्किसक्ने तयारी गरिएको छ।

अमेरिकाले अफगानी सुरक्षा निकायलाई तालीम उपलब्ध गराउन सानो आकारको सैन्य टोली त्यहाँ राख्न दिन माग गरेको छ।

तर त्यो अर्को महिना हुने राष्ट्रपति निर्वाचनको परिणाममा निर्भर रहन्छ।

अफगानि राष्ट्रपति हमिद कारजाइले अमेरिकी फौजलाई अफगानिस्तानमा रहन दिने गरी दुई पक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

राष्ट्रपति ओबामाले आफूलाई भेट्न बग्रामस्थित शिविरमा आउन दिएको निम्तो कारजाइले अस्वीकार गरेका थिए।

उनले काबुलस्थित राष्ट्रपति भवनमा मात्र ओबामासँग भेट्न सक्ने अडान लिएको अधिकारीहरुले जनाएका छन्।

त्यसपछि स्वदेश फर्कने क्रममा ओबामाले अफगानी नेतासँग टेलीफोनमा कुराकानी गरेको र सन् २०१४ पछि अमेरिकी सैन्य उपस्थितिबारे कुनै घोषणा गर्नु अघि सम्पर्कमा रहने प्रतिबद्धता जनाएको बताइएको छ।

मिसन

अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले उनीहरुको सेवाको लागि धन्यवाद दिदैँ सरकारले स्वास्थ्य लगायत अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

उनले यसै बर्षको अन्त्यसम्ममा अफगानी सैनिकले देशको सुरक्षको जिम्मा लिने र अमेरिकी फौजी मिसन पुरा हुने बताए।

एउटा सैनिक केन्द्रमा सम्बोधन गर्दै ओबामाले यसै बर्ष युद्ध अन्त्य हुने बताए।

उनले अलकायदा ध्वस्त भैसकेको र तालिबान गतिविधि निक्कै सुस्त बनेको पनि बताएका थिए।

उनले अर्को महिना निर्वाचित हुने नयाँ अफगानी राष्ट्रपतिले अमेरीकासँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

दोस्रो चरणको चुनाव लडिरहेका राष्ट्रपति पदका दुवै उम्मेदवारहरु १० देखि १५ हजार अमेरिकी सैनिक एक बर्षको लागि राख्न दिने गरी सुरक्षा सम्झौता गर्न सकारात्मक रहेको बताइएको छ।

तर भ्रमणका क्रममा दुवैसँग ओबामाले भेटघाट नगरेको जनाइएको छ।