‘दोनेत्स्क विमानस्थलमा पुन: नियन्त्रण कायम’

  • 27 मे 2014
दोनेत्स्क
Image caption पछिल्ला भीडन्तमा मारिएका सबै रुस समर्थक पृथकतावादीहरु रहेको बताइको छ

युक्रेनका आन्तरिक मामिला मन्त्री आर्सेन आभाकोवले दोनेत्स्क विमानस्थल वरपर भएको भीडन्तमा मारिएका सबै रुस समर्थक पृथकतावादीहरु रहेको बताएका छन्।

पछिल्लो भीडन्तमा त्यहाँ कम्तीमा ३० जना रुस समर्थक विद्रोहीहरु मारिएको बताइएको छ।

नयाँ राष्ट्रपति पेत्रो पोरोशेन्कोले उनकै शब्दमा पूर्वका आतंकवादीहरुलाई केही घन्टामै परास्त गर्ने बताएका थिए।

क्षति

आन्तरिक मामिला मन्त्री आभाकोवले एक वक्तव्यमा दोनेत्स्कको विमानस्थल आफ्नो नियन्त्रणमा लिने क्रममा रुस समर्थक विद्रोहीहरुले ठूलो क्षति व्यहोरेको तर आफ्नो पक्षमा कुनै क्षति नभएको उल्लेख गरेका छन्।

उनका अनुसार त्यस क्षेत्रमा कारवाही जारी छ।

त्यहाँस्थित बीबीसीका एक सम्वाददाताले फाट्टफुट्ट गोली चलेको आवाज सुनेको र विमानस्थल जाने सडकहरु अझै विद्रोहीहरुको नियन्त्रणमा रहेको बताएका छ्न्।

पछिल्लो कारवाहीमा विमानहरु तथा हेलिकोप्टरहरुको समेत प्रयोग गरिएको थियो।

त्यस क्षेत्रका एक प्रत्यक्षदर्शीले विमानस्थल वरपर कारवाही भइरहँदा आफू एकदमै डराएको बताए।

'डर'

उनले भने "हेलिकोप्टर उडिरहेको थियो मेरो कार्यालयमाथि, म एक अस्पतालमा काम गर्छु, केहि सैनिक विमानहरु पनि उडिरहेका थिए।”

“सडकहरुमा हातहतियारले सुसज्जित मानिसहरु विमानस्थलतिर दौडीरहेका थिए, मलाई कस्तो लाग्यो भनेर म कुनै शब्दमा भन्नै सक्दिन।”

दोनेत्स्कस्थित बीबीसीका मार्क लोवेन भन्छन् किएभको सरकारले विमानस्थललाई विद्रोहीहरुको पञ्जामा पर्न नदिनको निम्ति पुरै तयारी गरेको थियो।

उनका अनुसार गत फेव्रुअरीमा रुस समर्थक पृथकतावादीहरु क्राइमियामा प्रवेश गर्दा सो विमानस्थललाई पुरै आफ्नो नियन्त्रणमा लिएका थिए।

युक्रेनमा नयाँ राष्ट्रपतिले सोमबार आफ्नो वक्तव्यमा उनकै शब्दमा आतंकवादीहरुसंग कुनै हालतमा वार्ता नगर्ने बताएका थिए।

यसैबीच युरोपका लागि सुरक्षा तथा सहयोग संस्था ओएससीइले दोनेत्स्कको पूर्वी भागबाट आफ्ना चार जना अनुगमनकर्ताहरु सम्पर्कविहिन भएको बताएको छ।