अभिलेख समितिको काम पुरा

  • 29 मे 2014
former ca
Image caption अघिल्लो संविधानसभाको पूर्ण बैठकले १५६ वटा विषयमा सहमति जुटाउन सकेको थिएन

संविधान निर्माणको एउटा महत्वपूर्ण चरण पुरा गर्दै संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले विगतको संविधानसभामा भएका सहमति र असहमतिका प्रतिवेदनहरु बुझाउने काम सकेको छ।

पहिलो संविधानसभाका संवैधानिक तथा अन्य १० वटा विषयगत समितिहरुले जुटाएका सहमति र असहमतिका बुंदा निर्क्यौल गरी बिहीबारसम्ममा पूर्ण प्रतिवेदन बुझाउने जिम्मा उक्त समितिलाई दिइएको थियो।

यसपछि अब विवादित विषय टुंग्याउने संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति र सहमतिका विषय लिपिवद्ध गर्ने मस्यौदा समितितिर ध्यान केन्द्रित हुनेछ।

महत्वपूर्ण

संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले अघिल्लो संविधानसभाका विभिन्न पांचवटा समितिका सहमति र असहमति समेटिएको प्रतिवेदन बिहीबार संविधानसभा अध्यक्षलाई एकमुष्ट बुझाएको छ।

निकै महत्वपूर्ण मानिएको संवैधानिक समितिसहित अल्पसंख्यक, संवैधानिक निकाय, शासकीय स्वरुप तथा व्यवस्थापकीय अंगसंग सम्बन्धित समितिहरुका प्रतिवेदन बुझाइएको अधिकारीहरुले बताए।

यसअघि पटकपटक गरी ६ वटा समितिहरुको प्रतिवेदन बुझाइएको थियो।

अभिलेख समितिका सचिव रामशरण घिमिरेले भने, "जेठको मध्यसम्ममा काम सक्न हामीलाई कार्यतालिका दिइएको थियो। अभिलेख समितिको काम सकिएको छ र संविधानसभामा छलफल जारी छ।"

प्रतिवेदनहरु बुझाउने कामको समाप्तिसंगै माघ ८ गतेभित्र संविधान जारी गर्ने कार्यतालिकाको एउटा महत्वपूर्ण चरण पुरा भएको छ।

स्वामित्व

अधिकारीहरुले यसलाई अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने दिशामा महत्वपूर्ण कदमका रुपमा व्याख्या गरेका छन्।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, "विगतको संविधानसभाले गरेका कामहरुको स्वामित्व लिने दिशामा यो एउटा कोसेढुंगा हो। अब संविधान निर्माणमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ।"

संविधानसभाको पूर्ण बैठकले छलफल गरी सहमतिका विषयलाई मस्यौदा र विमतिका बुंदालाई संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिमा पठाउने प्रावधान छ।

जसअनुसार न्यायप्रणाली, प्राकृतिक स्रोत र राष्ट्रिय हितसंग सम्बन्धित समितिहरुका सहमति र असहमतिका बुंदा ती दुई समितिमा पुगिसकेका छन्।

विगतको संविधानसभाको पूर्ण बैठकले टुंगो लगाउन नसकेका १ सय ५६ वटा विमतिका विषय छन्।

तीमध्ये आधा त राज्य पुनर्संचनासंगमात्रै सम्बन्धित रहेको अधिकारीहरुले जनाएका छन्।