बलात्कारको मुद्दा हेर्न फास्ट ट्रयाक कोर्ट

  • 30 मे 2014
तस्वीर कपीराइट AP
Image caption दिल्लीमा एक छात्राको यौनजन्य हिंसामा मृत्यु भएपछि भारतमा यौन हिंसा सम्बन्धी कानुन कडा पारिएको छ

सामूहिक बलात्कारपछि दुई किशोरीहरु रुखमा झुण्डिएको अवस्थामा फेला परेको भन्दै भारतको उत्तर प्रदेश सरकारले सो अपराधको अभियोजनको लागि विशेष फास्ट ट्राक कोर्ट अर्थात द्रुत गतिको अदालत गठन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

पीडित परिवारले ती किशोरीहरु हराएकोबारे जानकारी गराएको १२ घन्टापछि मात्र प्रहरीले उजुरी दर्ता गरेको भन्दै आलोचना गरेपछि उत्तर प्रदेश सरकारको त्यस्तो भनाइ आएको हो।

सो घटनालाई लिएर दुई प्रहरीलाई पदबाट बर्खास्त गर्दै उनीहरुविरुद्ध आपराधिक षडयन्त्रको अभियोग लगाइएको छ।

उत्तर प्रदेशको बदायुँको कटरा गाउँमा भएको सो घटनाको विषयमा अनुसन्धानको क्रममा प्रहरीले एक प्रहरी कर्मचारी सहित तीन जनालाई हिरासतमा लिएको छ।

आक्रोश

विपन्न समुदायका ती किशोरीमाथि सामूहिक बलात्कार पछि उनीहरुलाई झुन्डाइएको भन्दै आक्रोशहरु व्यक्त भएपछि गृहमन्त्री राजनाथ सिंहले पनि त्यसबारे राज्य सरकारसंग प्रतिवेदन माग गरेका छन्।

स्थानीयवासी तथा विपक्षी दलका नेताहरुले सो घटनाबाट उत्तर प्रदेशमा जंगली शासन चलिरहेको स्पष्ट भइरहेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

पीडित दुई दिदीबहिनीको उमेर १४ र १६ वर्षको थियो।

घटनास्थल पुगेकी बीबीसी संवाददाता दिब्या आर्यले भनिन्, “म ती केटीहरुको शव झुण्डिएको आँपको रुखमै पुगेको थिएँ। त्यो रुखको हाँगालाई देखाउँदै एक किशोरीको बाबुले साह्रै दुख व्यक्त गरे। उनले यदि उनले भनेकै बेलामा प्रहरीले कारवाही गरेको भए शायद उनकी छोरी र भतिजी जीवितै फेला पार्न सकिन्थ्यो भनि आशा व्यक्त गरे।”

गम्भीरता

ती पिताले आफ्ना हराएका छोरीहरुबारे उजुरी गर्न जाँदा उनलाई प्रहरीले जिस्काएर गुनासो गम्भीरतापूर्वक नलिएको बताए।

घटना अघि पीडित किशोरीहरु घरमा शौचालय नभएको भन्दै आफ्ना आफन्तकहाँ गएका थिए।

अभियानकर्ताहरुले गाउँमा शौचालयको सुविधा नभएको गुनासो गरेका छन्।

त्यसैकारण गाउँमा महिलाहरु स्वास्थ्य र सुरक्षाको हिसाबले जोखिमपुर्ण अवस्थामा रहेको उनीहरुको भनाइ छ।

सो घटनाले भारतका सञ्चारमाध्यमहरुमा प्रमुखता पाएको छ।