युक्रेनमा पृथकतावादीहरु विरुद्धको कारवाही थप तीव्र बनाउने संकेत

  • 30 मे 2014
लडाकू तस्वीर कपीराइट AFP
Image caption रुसले पृथकतावादीहरुलाई सघाइएको भन्ने युक्रेनको आरोप अस्वीकार गर्दै आएको छ

युक्रेनको राष्ट्रपतिमा निर्वाचित पेट्रो पोरोशेन्कोले ‘आतंककारी र डाँकाहरुलाई दण्डित गर्ने’ प्रतिवद्धता जनाएका छन्।

रुस समर्थक विद्रोहीहरुले सेनाका मेजर जनरल सहित १२ जना मारिने गरी एउटा सैनिक हेलिकोप्टर खसालेपछि उनको त्यस्तो अभिव्यक्ति आएको हो।

आइतवार राष्ट्रपति चुनावमा विजयी भएका पोरोशेन्कोले पृथकतावादीहरुलाई महिना नभई केही घण्टामै काबुमा लिने संकल्प गरेका थिए।

ठूलो क्षति

तीनै पोरोशेक्नकोले भने, “युक्रेनी जनताका विरोधीका आपराधिक कृयाकलाप सजाय मुक्त हुने छैनन्, अब हामीले डाँका वा आतंककारीका हाताबाट थप युक्रेनी मारिने छैनन् भन्ने सुनिश्चित गर्न हरेक प्रयास गर्नुपर्छ।”

डोनेत्सकबाट बीबीसीका सम्वाददाता मार्क लोवेनले जनाए अनुसार त्यस घटनालाई जारी द्वन्द्वमा सरकारकानिम्ति एउटा सबैभन्दा ठूलो क्षतिको रुपमा लिइएको छ।

उनी भन्छन्, “उक्त घट्ना किएभले सञ्चालन गर्दै आएको उसकै शब्दमा आतंककारी बिरुद्धको कारवाहीका निम्ति गम्भीर धक्का पनि हो।”

युक्रेनको संसदमा बोल्दै त्यहाँका कार्यवाहक राष्ट्रपति अलेकसेन्दर तुर्चिनोभले देश आक्रमणमा परेको बताएका छन्।

आरोप-प्रत्यारोप

रुस समर्थक लडाकूले पूर्वी युक्रेनमा अत्याधुनिक हतियार प्रयोग गरेकोमा ह्वाइट हाउसले चिन्ता व्यक्त गरेको छ।

विमान विरुद्ध मार हान्ने रुसी मिसाइल प्रयोग गरी बिहिवार युक्रेनी सेनाको हेलिकोप्टर खसालिए पछि उसको प्रतिकृया आएको हो।

गत हप्ता डोनेत्सस्थिति एउटा सैन्य जाँच पोष्टमा विद्रोहीहरुले आक्रमण गर्दा १४ जना सुरक्षाकर्मी मारिएका थिए।

युक्रेनले भने रुसमाथि पृथकतावादीलाई सघाएर आफ्नो देशमा भइरहेको हिंसालाई प्रोत्साहित गरिरहेको आरोप लगाउने गरेको छ।

तर उक्त आरोप अस्वीकार गर्ने गरेको रुसले युक्रेनलाई मस्को समर्थक विद्रोहीहरु विरुद्धको सैन्य कारवाही रोक्न र ‘साँच्चिकैको राष्ट्रिय सम्वाद’ थाल्न पुन: आग्रह गरेको छ।

रुसी नागरिक

मस्को समर्थक पृथकतावादीहरुले पूर्वी युक्रेनको डोनेत्स्क अन्तर्राष्ट्रिय विमानस्थलमा यसै साता भएको भीडन्तमा मारिएका आफ्ना अधिकांश लडाकू आफ्ना रुसी नागरिक भएको बताएका छन्।

एकजना मुख्य पृथकतावादी नेता एलेज्यान्दर बोरोदाइलाई उद्धृत गर्दै रुसी समाचार संस्था आरआईएले युक्रेनी सरकारले विमानस्थल पुन: नियन्त्रणमा लिँदा मारिएका ३३ जना लडाकू रुसी नागरिक रहेको जनाएको छ।

आफू स्वयं रुसी नागरिक रहेका बोरोदाइले मृतकको पहिचान भइसकेको र शव रुस लगिने बताए।

यसअघि पृथकतावादीहरुले मृतक स्थानीय लडाकू भएको बताएका थिए।विद्रोहीहरुका अनुसार विमानस्थल कब्जा गर्ने असफल प्रयासका क्रममा उनीहरुले एकसय जति विद्रोही गुमाएका थिए।