कतार विश्वकप: लाखौँ डलर खुवाएको आरोप

  • 1 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption फिफाको कार्यकारी समितिका सदस्यले रकम बाँडेको दस्तावेज आफूसँग रहेको सन्डे टाइम्सले जनाएको छ

सन् २०२२ को विश्वकपको आयोजक राष्ट्र कतारलाई छान्ने क्रममा फिफाको कार्यकारी समितिका एक सदस्यले झन्डै ५० लाख डलर घुस विभिन्न देशका फुटबल अधिकारीहरुलाई बाँडेको दाबी लन्डनबाट प्रकाशित हुने सन्डे टाइम्स समाचारपत्रले गरेको छ।

फिफाको कार्यकारी समितिका कतारी सदस्य महमद बीन हमामले दशौँ लाख डलर तिरेर कतारको पक्षमा समर्थन जुटाएको विवरण सहितको दस्तावेज आफूले पाएको सो अखबारले जनाएपछि फिफातिर नै औलाँ सोझिएको हो।

कतारको विश्वकप आयोजक समितिले सो आरोपको कडा प्रतिवाद गरेको छ।

खुलासा

सन्डे टाइम्स पत्रिकाले बीन हमामले दशौं लाख डलर फुटबल अधिकारीहरुलाइ बाँडेर विश्वकप आयोजना गर्न समर्थन जुटाएकोसँग सम्बन्धित लाखौँ इमेल, चिठ्ठी, र बैँकमा नगद जम्मा गरिएका विवरण आफूसँग रहेको जनाएको छ।

कतारको विश्वकप आयोजक समिति र स्वंय बीन हमामले उनले सन् २०१० मा विश्वकप अयोजनास्थल छनौट गर्न भएको दोस्रो चरणको मतदानमा सक्रियतापूर्वक लबिङ नगरेको बताउँदै आएका छन्।

तर सन्डे टाइम्सले प्राप्त गरेको र बीबीसीले पनि देखेको इमेलहरुका अनुसार फिफाका पूर्व उपाध्यक्ष समेत रहेका उनले कतारमा विश्वकप आयोजना गर्ने निर्णय हुनु एक बर्ष अघि नै आफ्नो देशको पक्षमा समर्थन जुटाउन व्यापक प्रयास गरेको देखाएको छ।

ती दस्तावेजहरुका अनुसार कतारको पक्षमा भोट जुटाउन बीन हमामले सिधैँ अफ्रिकी देशहरुका फुटबल पदाधिकारीहरुलाई रकम उपलब्ध गराएका थिए।

कतारले कडा रुपमा ती आरोपहरु अस्विकार गर्दै सन् २०२२ को विश्वकप अभियानमा समर्थन जुटाउन बीन हमामलाई कुनै आधिकारीक भूमिका नदिइएको र उनले स्वतन्त्र रुपमा सहयोग गरेको बताएको छ।

सन्डे टाइम्सले प्रतिक्रियाको लागी सम्पर्क गर्दा बिन हमामका छोरा हमद अल अब्दुल्हले आफूले बुवाको तर्फबाट प्रतिक्रिया दिन नसक्ने बताए।

अफ्रिका

तस्वीर कपीराइट Getty
Image caption भ्रष्टाचारको आरोप लागेपछि विश्वकप आयोजनास्थल छान्न फेरी मतदान गर्ने दवाव फिफामाथी परेको छ

उक्त अखबारले त्यसबेला बिन हमामले चुनावमा भाग लिएका ४ वटा अफ्रिकी फुटबल संघलाई आफ्नो पक्षमा पार्ने रणनीति लिएको जनाएको छ।

बीन हमामले झन्डै अढाइ लाख डलर ओसिनियाका तर्फबाट फिफाको कार्य समितिमा रहेका तर कार्वाहीमा परेका रेनल्ड टेमारीलाई उपलब्ध गराएको सन्डे टाइम्सले जनाएको छ।

त्यसपछि टमोरीले आफूलाई कार्वाहि गर्ने निर्णयको बिरुद्धमा पुनरावेदन गरेको जसका कारण उनका उत्तराधिकारीले विश्वकप आयोजना स्थलका बारेमा भएको मतदानमा भोट हाल्न नपाएको बताइएको छ।

सो अखबारले यदी टेमारीको साट्टो अर्का अधिकारीलाई ओसिनियाको तर्फबाट मत हाल्न दिइएको भए उनले विश्वकप आयोजक बन्ने दौडमा रहेको अष्ट्रेलियालाई समर्थन गर्ने दाबी गरेको छ।

मतदान

नयाँ आरोपहरु सार्वजनिक भएपछि फिफालाई सन् २०२२को विश्वकप कहाँ गर्ने भन्नेबारे फेरी मतदान गर्न दबाव पर्ने ठानिएको छ।

यसअघि नै फिफाले सन् २०१८ र सन् २०२२ को विश्वकप आयोजनास्थल छनौट गर्दा भएका भनिएका भ्रष्टाचार छानबिन गर्न फिफाका प्रमुख अनुसन्धानकर्ता माइकल गार्सियाको नेतृत्वमा टोली बनाएको छ।

गार्सियाले सोमबार ओमानमा कतार २०२२ विश्वकप आयोजक समितिका पदाधिकारीहरुसँग भेट्दै छन्।

तर सन्डे टाइम्सले बीन हमाम र कतारको सफल विश्वकप अभियानबारे नयाँ प्रश्नहरु तेर्स्याएपछि उक्त बैठक पर सर्ने ठानिएको छ।