संसद बैठक अझै अवरुद्ध

  • 1 जुन 2014
Image caption विपक्षी दलहरुको अवरोधका कारण बजेटबारे संसदमा छलफल शुरु हुन सकेको छैन्

अवरुद्ध सदन खुलाउनका लागि सत्तारुढ र विपक्षी दलहरुबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएको छ।

प्रमुख दलहरु खासगरी सहमतिका साथ संविधान निर्माणलाई अघि बढाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्ने भनी आफुहरुले राखेको मागप्रति सहमति जुट्न नसकेकोले वार्ता विफल भएको प्रतिपक्षी एकीकृत नेकपा माओवादीका एक नेताले बताए।

विवादका कारण शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशन आइतबार लगातार दोस्रोपटक अवरुद्ध भयो।

संसदको बजेट अधिवेशन शुरु भएकै दिन शुक्रबारदेखि प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले थालेको अवरोध खुलाउन ऊ सहितका प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच आइतबार छलफल भएको थियो।

निष्कर्ष

तर छलफलले कुनै निष्कर्ष दिन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

कुरा के मा अड्कियो त भन्ने प्रश्नमा एकीकृत माओवादीका नेता हरिबोल गजुरेलको जवाफ थियो, ''उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनका लागि कांग्रेस चाहिँ सकारात्मक छ तर एमालेको त्यसमा विमति छँदैछ। त्यसले गर्दा समग्रमा कुरो टुंगिन पाएन।''

संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन समिति तथा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका माग एकीकृत माओवादीले अघि सारेको छ।

उसले उठाउँदै आएका ती मागका अतिरिक्त अर्को विपक्षी चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आर्थिक वर्ष सकिन लागेको बेला सरकारले जथाभावी रकमान्तर गरेर रकम बाँडेको भन्दै आफुले पनि सदन अवरोध गर्ने बताएको छ।

अवरुद्ध

त्यसैगरी अर्को दल मधेशी जनाधिकार फोरम नेपालले पनि बैठक अवरुद्ध गर्न साथ दिएको छ।

जसका कारण मंगलबारसम्मका लागि संसदको बैठक स्थगित भएको छ।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले भने सदन खुलाउन सहमति नजिक पुगिसकेकाले एक दुई दिनभित्रै निष्कर्षमा पुगिनेमा आफू विश्वस्त रहेको बताए।

उनले भने, ''मंगलबारसम्म सहमतिमा पुगेर संसदको अवरोध हटाउने कुरामा सरकारका तर्फबाट अधिकतम लचकता अपनाएर प्रस्तुत हुनेछौं। त्यही अनुरुप सबै प्रतिपक्षी दलहरु पनि त्यही लचकताका साथ संसदको अवरोध हटाएर पूर्व बजेटको सैद्धान्तिक नीतिगत छलफलमा सहभागी हुने वातावरण बनाउनका लागि सबै तयार हुनेछन्।''

लामो समयपछि निर्वाचित संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारे छलफल हुने तय भएतापनि दलहरुमाझको विमतिले यस पटकको बजेट अधिवेशनपनि खलबलिएको छ।