बन्दी रिहाई बारे अमेरिकाको बचाउ

  • 1 जुन 2014
तस्वीर कपीराइट AP
Image caption सर्जेन्ट बोउ बर्गडालको रिहाईका लागि अन्य सैनिकले खेलेको भूमिकाको चक हेगलले प्रशंसा गरेका छन्

अमेरिकी रक्षामन्त्री चक हेगलले अफगानिस्तानमा बन्दी बनाईएका एक अमेरिकी सैनिक सर्जेन्ट बोउ बर्गडालको रिहाईका लागि ग्वान्टानामो बे मा राखिएका पाँच तालिबान विद्रोही बन्दीहरु छाड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।

कंग्रेसलाई पूर्व जानकारी नदिइकनै निर्णय लिएको भनि हेगलको आलोचना भएको थियो।

तर सैनिकको ज्यान खतरामा रहेकाले तत्काल कदम चाल्नु परेको उनले बताएका छन्।

आशा

पाँच वर्ष अगाडि बन्दी बनाईएका ती अमेरिकी सैनिकलाई शनिबार छाडिएको थियो।

हाल अफगानिस्तानको भ्रमणमा रहेका रक्षामन्त्री हेगलले भनेका छन्, "बन्दी आदानप्रदानले तालीबानसंगका वार्तामा प्रगति हुने आशा छ।"

ती सैनिकलाई जर्मनीमा रहेको अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएपछि स्वदेश फर्काइने छ।

त्यस्तै पाँच तालिबान विद्रोहीहरु कतारमा छाडिएका छन्।

अफगानिस्तानमा रहेका अमेरिकी फौजको प्रशंसा गर्दै रक्षामन्त्री हेगलले आफ्नो प्राथमिकता अमेरिकी सैनिकलाई मुक्त पार्नु रहेको तर यो बन्दी आदानप्रदानले तालीबानसंगको वार्तामा पनि सकारात्मक प्रभाव पर्ने बताए।

ग्वान्टानामो

तर ग्वान्टानामो बे बाट बन्दी रिहाई गर्नु ३० दिनअघि नै कंग्रेसलाई दिइनुपर्ने सूचना नदिएकोप्रति अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको खूब आलोचना भएको छ।

अफगानिस्तानमा बन्दी बनाइएका ती एक्ला अमेरिकि सैनिक थिए।

उनका बाबुआमालाई साथै राखेर राष्ट्रपति बराक ओबामाले भने, “उनलाई आइडाहोका उनका समुदाय तथा सेनाले कहिल्यै बिर्सिएन। अनि उनलाई उनको राष्ट्रले पनि बिर्सिएको थिएन। किनभने संयुक्त राज्य अमेरिकाले कहिल्यैपनि आफ्ना सेनालाई छाडेर हिंड्दैन।”

बीबीसीका काबुलस्थित सम्वाददाता डेभिड ल्वोएन भन्छन्, खासमा बन्दी आदानप्रदानको प्रयास तीन वर्षअघि थालिएको थियो।

तर हालको घटनाले वृहत शान्ति प्रक्रियामा कस्तो प्रभाव पर्छ भन्ने प्रष्ट भइसकेको छैन।