थुनुवा सट्टापट्टामा अफगानिस्तानको आक्रोश

  • 2 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption तालेबान लडाकुलाई अमेरिकाले कतारको जेलमा सारेकोमा अफगानिस्तानले कडा विरोध जनाएको छ

अफगान सरकारले ग्वान्टानामो बेमा थुनिएका पाँचजना बरिष्ठ तालेबान लडाकुसँग एकजना अमेरिकी सिपाही साटेको प्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ।

ति पाँचजना बन्दीहरुलाई कतारमा थुनामा राखिएको छ।

अफगानिस्तानले बन्दीहरु तेश्रो मुलुकलाई हस्तान्तरण गर्नु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध छ भनेको छ।

अमेरिकामा विपक्षी रिपब्लीकनले सरकारको विरोध गरेका छन्।

ठूलो जीत

तर अफगान तालेवान नेता मुल्ला मोहम्मद ओमारले विरलै दिने आम विज्ञप्ती जारी गर्दै आफ्नो नियन्त्रणमा रहेका एकजना अमेरिकी सिपाहीसँग ग्वान्टानामो बेमा राखिएका पाँचजना तालेवान बन्दीहरु साटिएकोमा प्रसन्नता व्यक्त गर्दै त्यसलाई ठूलो जीत बताएका छन्।

२८ वर्षीय अमेरिकी सिपाही बोए बर्गडाललाई शनिबार अफगानिस्तानमा अमेरिकी फौजलाई हस्तान्तरण गरिएको थियो।

विपक्षी रिपब्लीकनहरुले आतंकबाद प्रति नरम भएको भन्दै आलोचना गरेको यो सट्टापट्टा सहमतिको ह्वाइट हाउसले बचाउ गरेको छ।

आइतबार एउटा भावपूर्ण भाषण दिँदै सिपाहीका बाबुआमाले उनीहरुको छोराको स्वास्थ्यमा सुधार आउन लामो समय लाग्ने बताएका छन्।

कठीन

अहिलेसम्म आफूहरुले छोरासँग कुराकानी नगरेको पनि बाबुआमा बताउँछन्।

उक्त परिवारको गृहराज्य इडोमामा उनका पीताले भनेका छन्, "बोए गएको यति लामो समय भइसक्यो त्यसैलै फर्केर आउन पनि कठीन हुनेछ।"

जर्मनीस्थित अमेरीकी सैन्य अस्पतालमा उपचारमा रहेका ति सिपाही राम्रो अवस्थामा रहेको बताइएको छ।

केहि अघि उनका बाबुआमाले बोएलाई अंग्रेजी बोल्न समस्या भएको बताएका थिए।

तालेबानले अफगानिस्तानमा नियन्त्रणमा राखेका उनी एकमात्र अमेरीकी सेना थिए।

भत्सर्ना

सन २००१मा अमेरिकी कारवाहीका बेला अफगानिस्तान छोडेपछि कहिल्यै सार्वजनिक अभिव्यक्ति नदिका मोल्ला ओमारले "म मुश्लिम राष्ट्र अफगानलाई हार्दिक बधाइ दिन चाहन्छु" भनेका छन्।

यो सहमतिबारे सट्टापट्टा नहुन्जेल जानकारी नगराइएको अफगान सरकारले उक्त गतिविधि अन्तर्राष्ट्रिय कानुन विपरित भएको भनेर भत्सर्ना गरेको छ।

उसले एउटा विज्ञप्तीमा भनेको छ, हामी यसको कडा विरोध गर्छौ। र हामी कतार तथा अमेरिकी सरकार बन्दीहरुलाई स्वतन्त्र गरोस भन्ने चाहन्छौ।

ति बरिष्ठ अफगानी बन्दीहरु क्युबास्थित अमेरिकी बन्दी गृहमा राखिएका सबभन्दा बरिष्ठ अफगानीहरु भएको ठानिन्छ।

उनीहरुलाई सन २००१को सैन्य कारवाहीका बेला समातिएको ठानिन्छ।

आलोचना

विपक्षी रिपब्लीकनले कंग्रेसलाई तीस दिने सूचना नदिएको भन्दै पेन्टागनको आलोचना गरेका छन्।

यो सहमति बनाउन सक्रिय विशेष फौजको समुहसँग भेटेका अमेरिकी रक्षा मन्त्री चक हेगलले सिपाही खतरामा रहेकाले उनको जीवन बचाउन तत्काल कारवाही गर्नु परेको बताएका छन्।

ति सिपाही कसरी तालेवानको नियन्त्रणमा पुगे खुलाइएको छैन।

अमेरिकी कारवाहीबारे अन्यौलग्रस्त भएर आफै सेनाको शिविरबाट बाहिरिएको अपुष्ट रुपमा भनिए पनि ति सिपाहीले अब धेरै दुख पाइसकेकाले तिनमाथि सैन्य कारवाही गर्नेबारे नरम हुने ठानिएको छ।