सम्पत्ति सदुपयोगको गुरुयोजना बन्दै

  • 2 जुन 2014
शोक तस्वीर कपीराइट AP
Image caption गणतन्त्र घोषणा भैसकेपछि सरकारले स्वर्गीय राजारानीको सम्पत्तिको खोजबीन शुरु गरेको थियो

१३ वर्षअघि हत्या गरिएका पूर्वराजा वीरेन्द्र र उनको परिवारको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको सदुपयोग हुन नसकेको भनी आलोचना भईरहेका बेला त्यस्तो सम्पत्तिलाई व्यवस्थापन गर्न गठित नेपाल ट्रष्टको कार्यालयले ती सम्पत्तिको उपयोगको योजना अघि बढाईसकेको जनाएको छ।

पूर्वराजा र उनको परिवारको नाममा रहेको सम्पत्ति सरकारको मातहतमा ल्याईसकेको उक्त कार्यालयले लगानीबारे सम्बन्धित मन्त्रालयहरुको सुझाव संकलन गरिरहेको एक उच्च अधिकारीले बताए।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरुका परिवारको सम्पत्ति सरकारको मातहत ल्याई राष्ट्रिय हितमा प्रयोग गर्ने उद्देश्यले २०६४ सालमा नेपाल ट्रष्टको कार्यालय स्थापना भएको थियो।

त्यसबीचमा उनीहरुको नाममा रहेका सम्पति सरकारको मातहत आईसकेको भएपनि त्यसको सदुपयोगका लागि ट्रष्टको कार्यालयले बल्ल प्रक्रिया अघि बढाएको छ।

सम्पत्ति

उक्त कार्यालयका कार्यकारी सचिव श्रीधर गौतमले अचल सम्पत्तिहरुको लगानीबारे विभिन्न मन्त्रालयसँग राय मागिएको बताए।

उनले भने, ''त्यहाँबाट राय आएपछि दरबारमार्ग र कमलादी जस्ता मुख्य ठाउँमा रहेका जग्गाहरुको उपयोग गर्ने सन्दर्भमा एउटा एकीकृत गुरुयोजना बनाएर जाने कुरा छ। त्यही आधारमा हामी अगाडि बढिरहेका छौं।''

गौतमका अनुसार सम्भवतः आगामी तीन चार महिनाभित्र लगानीको प्रक्रिया शुरु गरिने छ।

उक्त कार्यालयले तत्कालीन राजारानी लगायतको नाममा रहेको ६ हजार रोपनीभन्दा बढी जग्गा र झन्डै डेढ लाख कित्ता शेयर सरकारको मातहत ल्याईसकेको जनाएको छ।

कार्यविधि

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्नेसम्बन्धी कार्यविधि तयार पारिसके पनि अपेक्षा गरिएअनुसार चल सम्पत्ति नभेटिएकोले तत्काल लगानी गर्न नसकिएको गौतमको भनाइ छ।

उनले भने, ''विभिन्न स्वदेशी तथा विदेशी बैंकहरुमा चल सम्पत्ति होला भनी जुन अनुमान थियो। त्यसअनुसार विदेशमा एक पैसा पनि भेटिएन। स्वदेशमै करीब ४५ हजार पाउण्ड भेटिएको छ।''

तत्कालीन राजारानी लगायतका सम्पत्ति सरकारको मातहत आई सके पनि राष्ट्रियहितमा त्यसको उपयोग नहुञ्जेल खासै अर्थ नराख्ने कतिपयको भनाइ छ।