भारतीय मन्त्री मुन्डेको कार दुर्घटनामा मृत्यु

  • 3 जुन 2014
तस्वीर कपीराइट AP
Image caption राष्ट्रप्रमुखदेखि पार्टीका वरिष्ठ नेताहरुले मुन्डेको निधनमा दुख व्यक्त गरेका छन्।

भारतका ग्रामीण विकासमन्त्री तथा भारतीय जनता पार्टी विजेपीका वरिष्ठ नेता गोपिनाथ मुन्डेको राजधानी दिल्लीमा एक कार दुर्घटनामा मृत्यु भएको छ।

६४ वर्षीया मुन्डे गत सातामात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ सरकारमा नियुक्त भएका थिए।

मुन्डेको मृत्युप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री तथा धेरै वरिष्ठ नेताहरुले दुःख व्यक्त गरेका छन्।

विजेपीका पूर्व अध्यक्ष तथा केन्द्रीय मन्त्री नितिन गडकरीका अनुसार मुन्डे सवार कार विहान करिब साँढे ६ बजे विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको हो।

मुन्डे कारको पछिल्लो सिटमा बसेका थिए र उनको कारको पछाडि अर्को एउटा गाडीले ठक्कर दिएको थियो।

तत्कालै उनका चालक र निजी सहायकले उनलाई एम्स ट्रमा सेन्टरमा उपचारको लागि पुर्याएका थिए।

श्रद्धाञ्जली

चिकित्सकहरुका अनुसार मुन्डेलाई एम्स अस्पताल पुर्याइँदा उनको सास बन्द भएको थियो, मुटुको धड्कन रोकिएको थियो।

चिकित्सकहरुले पुनः उनको धड्कन चलाउन कोशिस गरेका थिए तर सफल हुन सकेनन्।

शरिरको बाहिरी भागमा कुनै चोटपटक नदेखिएकोले उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।

उनलाई बिहान सात बजेर २० मिनेटमा मृत घोषित गरिएको थियो।

अहिले सरकार चलाइरहेको भारतीय जनता पार्टीका वरिष्ठ नेता मुन्डे यसअघि पनि सांसद थिए।

उनी आफ्नो गृह राज्य महाराष्ट्रका उप मुख्यमन्त्री समेत भएका थिए।

उनको पार्थीव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि भाजपा मुख्यालयमा लगिएको थियो।

दुर्भाग्यपूर्ण

त्यहाँबाट उनको शवलाई पुर्खौली गाउँ लगेर बुधबार अन्तिम संस्कार गर्ने कार्यक्रम छ।

राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हामिद अंसारी र प्रधानमन्त्री नरेन्द्र मोदीले मुन्डेलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।

प्रधानमन्त्री मोदीले मुन्डे पिछडिएको समाजबाट उठेर पनि उच्च नेतृत्वमा पुग्ने एक सच्चा नेता भएको बताएका छन्।

कांग्रेसका तर्फबाट राहुल गान्धी र हरिश रावलले पनि भाजपा मुख्यालय पुगेर मुन्डेलाई श्रद्धाञ्जली दिएका थिए।

केन्द्रीय मन्त्री नितिन गडकरीले मुन्डेको असामयिक निधनले देशको राजनीतिमा ठूलो क्षति पुगेको बताए भने हर्षवर्धनले उनको निधन दुर्भाग्यपूर्ण भएको बताएका छन्।

मध्यप्रदेशका मुख्य मन्त्री शिवराज सिंह चौहानले ट्वीटर सन्देशमार्फत मुन्डेको निधनको खबरले आफूलाई दुखी बनाएको बताएका छन्।

कांग्रेस महासचिव दिग्विजय सिंहले ट्वीटरबाटै मुन्डे आफ्नो असल मित्र र महान नेता भएको र निधनको खबरले हैरान बनाएको बताएका छन्।