हुँवा कार्लोसप्रति सम्मान व्यक्त

  • 3 जुन 2014
स्पनी राजा हुँवा कार्लोस् तस्वीर कपीराइट AFP
Image caption स्पेनका दुई मुख्य दलहरुले पनि राजा हुँवा कार्लोसको निर्णयको प्रसंसा गरेका छन्

चालिस वर्षपछि गद्दी त्याग गर्न लागेका स्पेनका राजा हुँवाँ कार्लोसप्रति ब्रिटेन फ्रान्स र जर्मनीका नेताहरुले सम्मान व्यक्त गरेका छन्।

उनीहरुले राजा हुँवाँ कार्लोसले जनरल फ्रान्कोको अधिनायकवादी शासनबाट स्पेनलाई प्रजातन्त्रको बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।

स्पेनका दुई मुख्य दलहरुले पनि आफ्नो छोरा युवराज फेलिपेलाई गद्दी सुम्पिने राजाको निर्णयको प्रसंसा गरेका छन्।

सम्बाददाताहरु भन्छन् हुवाँ कार्लोसको चार दशक लामो शासनकालमा स्पेनले प्रजातन्त्रलाई आत्मसात गर्यो, संवैधानिक राजतन्त्र शुरु भयो र युरोपेली संघको सदस्य बन्यो।

प्रतिक्रियाहरु

धेरै स्पेनीहरुले उनको कदमको स्वागत गरेका छन्।

एकजना स्पेनी नागरिकले भने, “मेरो विचारमा उनी एकदमै राम्रा छन्, उनले धेरै पहिले नै यस्तो गर्नु पर्थ्यो।”

“उनको कदमबाट देशको सार्वभौंमिकता पुन: जनतामै फर्किएको छ।”

“तर उनले सार्वभौंमिकता आफ्नो छोरालाइ लिएर गल्ती गरेका छन्।"

त्यसअघि ७६ वर्षिय राजा हुँवा कार्लोसले देशबासीको नाममा सम्बोधन गर्दै अब नयाँ पुस्ताले जिम्मेवारी लिने बेला आएको बताएका थिए।

स्पेनको आर्थिक संकटको दु:खद अवस्थाको चर्चा गर्दै उनले अब युवराज फेलिपेले देशलाई आशाको नयाँ युगमा लैजाने बताएका थिए।

तर स्पेनको राजधानी म्याड्रिड र अन्य शहरहरुमा स्पेन गणतन्त्र हुने कि नहुने भन्ने विषयमा जनमत संग्रह हुनु पर्ने माँग गर्दै हजारौ व्यक्तीहरु सडकमा उत्रिएका छन्।