नाइजेरियामा बोको हरामद्वारा कयौंको हत्या

  • 4 जुन 2014
Image caption बोर्नो राज्यबाट बोको हरामले दुइ सय स्कुले छात्रा अपहरण गरेको छ

नाइजेरियामा उग्रवादी समूह बोको हरामको पछिल्लो आक्रमणमा बोर्नो राज्यमा पर्ने गाउँहरुका दर्जनौँ मानिसहरुले ज्यान गुमाएको बीबीसीले जानकारी पाएको छ।

एक जना स्थानीय सांसदले ती हमलाहरुको पूष्टी गर्दै उग्रवादीहरुले अन्य पाँच वटा गाउँलाई पनि निशाना बनाएको बताए।

सोही क्षेत्रबाट विद्रोहीहरुले गएको अप्रिलमा २०० जना स्कूले छात्राहरुको अपहरण गरेका थिए।

झुक्याएर

क्यामरुनसँग सिमाना जोडिएको आट्टागारा गाउँका वासिन्दाले हतियारधारी मानिसहरुले उनीहरुलाई गिर्जाघरको प्राङ्गणमा जान आदेश दिएको बताए।

उनीहरु नाइजेरियाली सैनिक भएको ठान्दै सो आदेश स्थानियले पालना गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार त्यसपछी हतियारधारीहरुले भिडमाथी अन्धाधुन्ध गोली हानेका थिए।

नाइजेरियाका सांसद पिटर बियेले बीबीसीलाई भने सो क्षेत्रमा त्यस्तै खालको अन्य हमालाहरु पनि भएका छन् र धेरै घरहरु ध्वस्त पारीएको छ।

मंगलवार नाइजेरियाका सञ्चार माध्यमले सेनाका १० जना जर्नेल र ५ अन्य उच्च अधिकारीले बोको हरामलाई सघाइरहेको ‍आरोप सहितका खबरहरु प्रकाशमा ल्याएका थिए।

समाचारहरुमा ती अधिकृतहरुलाई सैनिक अदालतले उग्रवादीहरुलाई हतियार उपलब्ध गराएको र सुचना चुहाएकोमा दोषी देखाएको जनाइएको थियो।

खण्डन

नाइजेरियाका गृहमन्त्री अब्बा मोरोले आरोपितहरुको पहिचान गर्नु राम्रो भएको बताएका छन्।

उनले भने, “सैन्य अधिकृतहरुलाई दिइएको सजाय वा उनीहरुलाई कामबाट हटाउने कदमले एकदमै दह्रो सन्देश दिएको छ की त्यो नियमित कदम जस्तै मान्य हुँदैन र सरकार यो युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने पक्षमा छ।”

तर नाइजेरियाली सेनाका प्रवक्ताले ती आरोपहरुको खन्डन गर्दै सेनाको छवीमा बढी भन्दा बढी धक्का लगाउने उद्देश्यले गलत समाचारहरु बाहिर ल्याइएको बताएका छन्।

बोको हराम समुहले सबैभन्दा बढी गतिविधि गर्दै आएको देशको उत्तरीभागका राज्यहरुमा नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले अघिल्लो बर्षको मे मा संकटकाल लगाएका थिए।

त्यसको प्रतिकारमा बोको हरामले शहरी क्षेत्रमा बम आक्रमण गर्ने र साना नगर र गाउँहरुमा सामूहिक हमला गर्ने क्रमलाई निरन्तरता दिएको छ।