बेइजिङमा कडा सुरक्षा व्यवस्था

  • 4 जुन 2014
हङकङमा संझना
Image caption हङकङमा तियानानमेन स्क्वायरमा मारिएका मानिसहरुको संझना गर्न दशौं हजार मानिसहरु भेला भएका थिए

चीनको तियानानमेन स्क्वायरमा विद्यार्थीहरुको नेतृत्वमा भएको विद्रोह दमन गरिएको २५ वर्ष पुगेको संझनामा कुनै कार्यक्रम हरु गर्न नदिने उद्देश्यले राजधानी बेइजिङमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

हजारौं सुरक्षाकर्मीहरुले तियानानमेन स्क्वायर पुगेका मानिसहरुको परिचय सोध्नुका साथै झोलाको खानतलासी गरेका थिए।

सन् १९८९ मा सुधार तथा प्रजातन्त्रकालागि हप्तौंसम्म तियानानमेन स्क्वायरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई त्यहाँबाट हटाउन सेनाले कारवाही गर्दा सैयौं वा हजारौं मानिसहरुको ज्यान गएको ठानिन्छ।

तियानानमेन स्क्वायरमा गरिएको दमनको २५ वर्ष पुग्दा त्यस्तो कुनै पनि विरोध फेरि दोहेारिन नपाओस् भन्नेमा चिनियाँ अधिकारीहरु प्रतिबद्ध देखिन्छन्।

नियन्त्रण

पुरै स्क्वायर सुरक्षाकर्मीहरुको नियन्त्रणमा थियो भने विदेशी पत्रकारहरुलाई त्यहाँबाट हटाइएको थियो।

इन्टरनेटमा ट्याङ्क, स्क्वायर, रगत जस्ता शब्दहरु खोजी गर्नमा पनि प्रतिबन्ध लगाइएको छ।

पच्चीस वर्षअघि तियानानमेन स्क्वायरमा भएको प्रदर्शनमा भाग लिएका र अहिले अमेरिकामा निर्वासित जीवन बिताइरहेका शेन तोङले भने, "राजनीतिक सुधारलाई दमन गर्ने निर्णय कम्युनिष्ट पार्टीको शक्ति जोगाउने उद्देश्यले प्रेरित थियो र त्यो कुरा आम नरसंहारबाट मात्रै संभव हुँदैनथ्यो। फेरि वैधता प्राप्त गर्न उनीहरुले राष्ट्रवाद र निरन्तरको तीव्र आर्थिक विकासमा जोड दिए।"

चिनियाँ अधिकारीहरुले हालैका साताहरुमा दर्जनौं कार्यकर्ताहरुलाई पक्राउ गरेका छन्।

संझना

उता हङकङमा तियानानमेन स्क्वायरमा मारिएका मानिसहरुको संझनामा आयोजना गर्न लागिएको मैनबत्ती बालेर जाग्राम बस्ने बार्षिक समारोहमा यसपटक झण्डै दुईलाख मानिसहरु सहभागी हुने आफुहरुले अपेक्षा गरेको आयोजकहरुले बताएका छन्।

हङकङको मध्यभागमा रहेको पार्कमा दिउँसो सम्ममा दशौं हजार मानिसहरु जम्मा भैसकेका थिए।

सन् १९९७ मा हङकङ ब्रिटिश उपनिवेशबाट मुक्त भएपछि एक मुलुक, दुई पद्धति भन्ने नीति अन्तर्गत त्यहाँ मुख्यभूमि चीनमा नपाइने नागरिक अधिकारहरुको अभ्यास गर्न दिइन्छ।

विश्लेषकहरु भन्छन्, मुख्यभूमि चीनमा सेन्सरसिपका कारण चिनियाँ युवाहरु तियानानमेनमा गरिएको दमनका बारे प्राय जानकार हुँदैनन्।

त्यसैले पनि हङकङको स्मृति समारोहलाई अरु बढी महत्व दिइएको छ।

बीबीसीकी चीन सम्पादक केरी ग्रेसी भन्छिन्, "२५ वर्ष अघि चिनियाँ विद्यार्थीहरुले प्रतिक्रान्ति गर्न खोजेका थिएनन्। उनीहरुले त राजनीतिक सुधारको माग गरिरहेका थिए।"

तर उनी भन्छिन्, अहिले पनि चिनियाँ कम्युनिष्ट पार्टीले आधुनिक चिनियाँ राजनीति कस्तो हुनुपर्छ भन्ने बहस गर्न सकिरहेको छैन।