असार पहिलो साताभित्र बजेट ‘असम्भव’

  • 5 जुन 2014
ca
Image caption गत शुक्रबार डाकिएको संसदको बर्षे अधिवेशन प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध हुंदै आएको छ

जेठ अन्त्य वा असारको पहिलोसाताभित्रै बजेट ल्याउने सरकारको पूर्व योजना संसद अवरोधका कारण अब सम्भव नरहेको अर्थमन्त्री रामशरण महतले बताएका छन्।

बीबीसीसंग कुरा गर्दै उनले अर्को साताको सुरुवातसम्ममा संसदको अवरोध अन्त्य भइहाल्यो भनेपनि बजेट ल्याउन अब कम्तीमा असार दोस्रो सातासम्म कुर्नुपर्ने संकेत गरे।

मुख्य दलहरुबीच भएको राजनीतिक सहमति कार्यान्वयन नभएको तथा खुद्रे योजनाहरुमा बजेट रकमान्तर गरिएको भन्दै एकीकृत माओवादी लगायतका विपक्षी दलहरुले पछिल्लो एक सातायता संसद अवरुद्ध पार्दै आएका छन्।

संसदको अर्को बैठक आउँदो आइतबारका लागि डाकिएको छ।

ढिलाइ

योजना अनुसार शुक्रबारसम्ममा पूर्वबजेट छलफल अन्त्य हुनुपर्ने हो।

तर बर्षे अधिवेशनको सुरुदेखि नै संसद अवरुद्ध रहेपछि सकिनु त परै जाओस छलफल प्रारम्भनै हुन सकेको छैन।

यसपटक पहिलेभन्दा छिट्टै बजेट ल्याउने बताइरहेको सरकारको योजना यही संसदीय गतिरोधको शिकार बन्दै गइरहेको जस्तो देखिएको छ।

अर्थमन्त्री महतले भने ,"मेरो जुन योजना थियो जेठभित्रै वा असारको पहिलो हप्ताभित्रै ल्याउने त्यो अब सम्भव देखिंदैन। संसद प्रतिपक्षले अवरुद्ध पारेका कारण बजेटको प्रस्तुति अलि ढिला हुने भयो।"

सम्भावना

प्रधानमन्त्री बिहीबारमात्रै दुई दिने चीन भ्रमणमा गएको र संसदको अर्को बैठक आइतबार डाकिएकाले संसदको गतिरोध फुकेको हेर्न कम्तीमा अर्को साताको सुरुवातसम्म कुर्नै पर्ने देखिन्छ।

अवरोध खुलेपछि पूर्वबजेट छलफल भए, त्यो सकिएलगत्तै राष्ट्रपतिको सम्बोधन हुने र त्यसपछि पनि बजेट प्रस्तुतिका लागि कम्तीमा दुई साता लाग्ने अधिकारीहरु बताउंछन्।

तर संसदले पूर्व छलफल गर्ने नियम निलम्बन गरी समय बचाएका विगतका उदाहरण पनि छन्।

यदि त्यसो भइहाले पनि बजेट ल्याउन कम्तीमा १० दिन कुर्नुपर्ने बताइन्छ।

तथापि पछिल्लो राजनीतिक गतिरोधबीच पनि बजेटको तयारी अन्तिम चरणतिर पुगिसकेको अर्थमन्त्रीले बताए।

यसपटक योजना आयोगले बजेटका लागि करीब ६ खर्ब रुपैयांको सीमा तोकेपनि यसपटक त्यो नाघिने सम्भावना रहेको उनले जनाए।

उनले भने,"नगरी नहुने योजनाका लागि पनि सीमाभित्र रहन कठिन होला जस्तो छ।"

यसरी सीमा नाघेर ठूलो रकम विनियोजन गरिएपनि आर्थिक वर्षको अन्त्यसम्म पुरा खर्च गर्नै नसक्ने बेथितिमा सुधार नआएसम्म बजेट प्रभावकारी नहुने जानकारहरु बताउंछन्।