युक्रेनको समर्थनमा जी सेभेन 'एकताबद्ध'

  • 5 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption औद्योगिक राष्ट्रहरुको समुह जी सेभेनका नेताहरुले रुसमाथि थप नाकाबन्दी गर्न तयार रहेको बताएका छन्

युक्रेनमाथि रुसी कारवाहीलाई लिएर जी सेभेन भनिने औद्योगिक राष्ट्रहरुका नेताले ब्रसल्समा उनीहरु रुसमाथि थप नाकाबन्दी लगाउन तयार रहेको बताएका छन्।

उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनको सार्वभौमसत्तामाथि मस्कोले 'निरन्तर धावा बोलेको' भन्दै भत्सर्ना गरिएको छ।

रुसले क्राइमियालाई आफुमा गाभेपछि रुसलाई जी सेभेन समुहबाट निस्काषन गरिएको थियो।

त्यसयता जी सेभने शीखर सम्मेलन पहिलोपटक भएको हो।

कुटनीतिक प्रयास

ब्रसल्स स्थित बीबीसीका क्रिश मरिश भन्छन्, धेरै यता देखा परेको रुस र पश्चिमा मुलुकहरुबीचको सबभन्दा ठूलो समस्या लाई समाधान गर्न संघन कुटनीतिक प्रयासहरु भइरहेका छन्।

जी सेभेनका नेताहरुको संयुक्त वक्तब्यमा युक्रेनमाथि रुसी हिंसा विरुद्ध हामीहरु एक छौं भन्दै हामी रुसमाथि थप नाकाबन्दी लगाउन तयार भएका छौं भनिएको छ।

जर्मन चान्सलर एन्गेला मर्कलले सन्चारकर्मीहरुसँग भनिन्, "हामी युक्रेनको थप अस्थीरता थेग्न सक्दैनौं। हामीले समाधानका तीन चरणलाई मानेका छौ युक्रेनलाई आर्थिक रुपमा सहयोग पुर्याउने रुस सँग वार्ता गर्ने र यदि त्यसमा प्रगति भएन भने रुस विरुद्ध कडा नाकाबन्दी लगाउने।"

त्यसअघि ब्रीटीश प्रधानमन्त्री डेभीड क्यामरनले जी सेभेनले युक्रेनको समर्थनमा स्पष्ट संकेत दिनसक्नुपर्ने अपेक्षा राखेको बताएका थिए।

'कालो चाल'

त्यसभन्दा अघि पोल्याण्डमा बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले उनकै शब्दमा युक्रेनमाथि 'कालो चाल' चलेको भन्दै मस्कोलाई चेतावनी दिएका थिए।

ओबामा युरोपको तीन मुलुको भ्रमणमा छन्।

डी डे भनिने समारोहको सत्तरीयौं वार्षिकोत्सव मनाउने समारोहमा ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै उपस्थित हुनेछन्।

ब्रसल्स शीखर सम्मेलनमा सहभागी नभए पनि पुटिनले जी सेभेन समुहका केहि नेताहरुसँग प्रत्यक्ष कुराकानी गर्नेछन् तर ओबामासँग भने कुराकानी नहुने जनाइएको छ।

युक्रेनी सरकार र रुस समर्थक पृथकतावादीहरुबीच तीब्र लडाइ भइरहेका बेला यस्तो चेतावनी आएको छ।

रुसले युक्रेनको अस्थीरतमा आफ्नो हात नरहेको बताउँछ।