राष्ट्रिय परिचयपत्र बनाउने प्रकृया पुनः शुरु

  • 5 जुन 2014
नेपाली तस्वीर कपीराइट other
Image caption राष्ट्रिय परिचयपत्र लागु भएपछि धेरै परिचयपत्र बोक्ने बाध्यता अन्त्य भई नागरिकलाई सजिलो हुने बताइन्छ

लामो समय यता अन्यौलमा रहेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सरकारी अधिकारीहरुले पुन: प्रक्रिया थालेका छन्।

आगामी डेढ महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी प्रक्रिया अघि बढाईएको बताइएको छ।

सुरुमा पाइलट अर्थात नमुनाका रुपमा थाल्न लागिएको उक्त योजनामा आर्थिक सहयोग गर्ने एसियाली विकास बैंकले अघिल्लो प्रक्रियाप्रति आपत्ति जनाएपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पुनः बोलपत्रको तयारी गरिरहेको जनाएको छ।

'झण्झट हट्ने'

अघिल्लो योजना अनुसार सन् २०१४ को अन्त्यसम्ममा १ लाख १० हजार मानिसलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने बताइएको थियो।

तर त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्ने एसियाली विकास बैंकले दुईवटा विदेशी कम्पनीहरु मात्र छनोटमा परेको कुरालाई लिएर बोलपत्र प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि राष्ट्रिय परिचयपत्र बनाउने जिम्मेवारी पाएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र पुनः बोलपत्र आह्वान गर्ने तयारीमा जुटेको हो।

केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतम भन्छन्, “दुई साताअघि मात्र हामीले पहिलेको बोलपत्र रद्द गरेर नयाँ प्रक्रियामा जान शुरु गरेका छौं, अब लगभग साउन महिनाको पहिलो सातातिर सूचना प्रकाशित गर्ने हाम्रो हिसाब छ।”

उक्त परिचयपत्रलाई विभिन्न उद्देश्यका लागि प्रयोग गर्न सकिने अधिकारीहरुले बताएका छन्।

गौतमका अनुसार मतदान, वृद्ध भत्ता, रासन लगायत उपभोग्य सामान लिने काममा पनि प्रयोग गर्न सकिने उक्त परिचयपत्र लागु भएपछि धेरै किसिमका परिचयपत्र बोक्ने झन्झट समेत हट्ने छ।

सुरक्षा सतर्कता

अर्कोतर्फ भने नागरिकका गोप्य विवरणहरु हुने त्यस्तो परिचयपत्रको सुरक्षाबारे कतिपयबाट अहिलेदेखि नै चिन्ता व्यक्त हुने गरेको पाइन्छ।

तर गौतमले सुरक्षाका विभिन्न उपायहरु अवलम्बन गरिने भएकोले डराउनु नपर्ने बताए।

उनले भने, “यसका लागि धेरै तहका सुरक्षा संयन्त्रहरु प्रयोग गरिएको हुन्छ, एउटा तह पार गरेर अर्को तहमा जान खोजियो भने एकातर्फ फेरि अर्को तहबाट रोकावट हुन्छ भने अर्कोतर्फ डाटा पनि एक ठाउँमा परिवर्तन गरियो, कुनै असर पारियो भने यसको सुरक्षा डाटा हामी तीन ठाउँमा राख्ने योजनामा छौं।”

उपयोगी तर संवेदनशील ठानिएको बहुउद्देश्यीय राष्ट्रिय परिचयपत्र लागु हुनुअघि नै त्यसको दुरुपयोग हुन नदिनेतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने जानकारहरु बताउँछन्।