संविधानका विवादमाथि छलफल प्रारम्भ

  • 6 जुन 2014
संविधान सभा
Image caption केही दिनयता सभासदहरुले संघीयताबारे आ-आफ्नf धारणाहरु राखिरहेका छन्

संविधान निर्माणबारेका प्रमुख विवादहरु किनारा लगाउनु पर्ने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्राय: सबै दलका प्रमुख नेताहरुको प्रतिनिधित्व रहेको छ।

संवाद समितिले राष्ट्रिय हित र न्याय प्रणाली सम्बन्धी समितिले अघि सारेका विमतिमाथि सहमति जुटाउने प्रयास थालेको बैठकमा सहभागी नेताहरुले बताए।

आगामी माघ ८ गते संविधान जारी गर्ने कार्यतालिका अनुसार संविधान निर्माणबारेका सबै विवादहरुको हल भदौ मसान्तसम्म निकाली सक्नु पर्नेछ।

संवाद समितिले पुरानो संविधानसभाको अभिलेख अध्ययन गरी निर्क्यौल समितिले अघि सारेका विमतिका विषयमाथि छलफल शुरु गरेको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

विवादहरु

संविधानसभा सचिवालयका अनुसार निर्क्यौल समितिले विगतको संविधानसभाले टुंग्याउन नसकेका विवादहरुलाई १५६ वटा प्रश्नको रुप दिएको छ।

ती प्रश्नहरुमध्ये ७८ वटा प्रश्न संघीयता र राज्य पुन:सरचनासंग सम्बन्धित छन्।

संवाद समितिको बैठकमा सहभागी नेपाली कांग्रेसका सभासद तथा नेता रामचन्द्र पौडेलले सबै विवादित विषयहरुमाथि क्रमश: छलफल हुने बताए।

“मौलिक हकका कुरा छन्, त्यसपछि संघीयता र राज्य पुन:संरचना देखि अन्य विषयहरुमाथि अब विधिवत रुपमा छलफल शुरु भयो,” पौडेलले भने।

छलफलको क्रममा सभासदहरुले देशलाई आवश्यक पर्दा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुले अनिवार्य सैन्य तालिम लिनु पर्ने एक विवादित प्रावधानमाथि आ-आफ्नो धारणा राखेका थिए।

तर त्यसको टुंगो भने लागि नसकेको सदभावना पार्टीको तर्फबाट बैठकमा सहभागी सभासद लक्ष्मणलाल कर्णले बताए।

खासगरी संघीयताका विषयमा दलहरुबीचको विवाद ज्यूँका त्यूँ रहेका बेला केही दिनयता संविधानसभामा सभासदहरुले राज्य पुन:संरचनाका विषयमा आ-आफ्नो धारणा राखिरहेका छन्।

चुनौती

प्रमुख दलहरुले खास गरी संघीयता र शासकीय स्वरुपका विषयमा आफ्ना परस्पर विरोधी अडानहरु त्यागेर सहमति जुटाउने भरपर्दो संकेत अझै दिएका छैनन्।

अझ संविधानसभा बाहिर रहेका बैद्य नेतृत्वको नेकपा माओवादी र अन्य दलहरुसंग वार्ता गरी सहमति जुटाउने जस्ता थप जटिल कामहरु बाँकी नै छन्।

त्यसैले भदौ मसान्तसम्ममा सबै विवादहरु समाधान गरी असोज मसान्त सम्ममा संविधानको पहिलो मस्यौदा तयार पार्न दलहरुलाई चुनौतिपूर्ण हुने देखिन्छ।