युक्रेन सरकारसँग वार्ता गर्न रुसमाथि दवाव

  • 6 जुन 2014
तस्वीर कपीराइट AFP Getty
Image caption विश्वयुद्धमा फ्रान्सको पक्षमा लड्दा ज्यान गुमाएका सैनिकको सम्मानमा शुक्रबार डि डे मनाइदैँछ

क्राइमियालाई आफूमा बिलय गर्ने रुसी कदमपछि ब्रीटेन र फ्रान्सका नेताहरुले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटेर युक्रेनमा जारी गतिविधि प्रति चिन्ता व्यक्त गरेका छन्।

जर्मन विरुद्ध विश्वयुद्धका क्रममा लडेका सैनिकहरुको सम्मानमा मनाइने डि डे भनिने समरोहमा भाग लिन फ्रान्स पुगेका नेताहरुबीच पेरिसमा भेटघाट भएको हो।

त्यसअघि ब्रसेल्समा भएको जी सेभेनको बैठकपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र ब्रीटीश प्रधानमन्त्री डेभीड क्यामरनले शनिबार युक्रेनको राष्ट्रपतिको रुपमा सपथग्रहण गर्न लागेका पेट्रो पोरोशान्कोलाई मस्कोले मान्यता दिनुपर्ने बताएका थिए।

सन्देश

पेरिसमा भएको भेटमा आफूले रुसद्वारा भैरहेका उत्तेजक गतिविधि रोकिनुपर्ने स्पष्ट सन्देश पुटीनलाई दिएको प्रधानमन्त्री क्यामरनले बताए।

उनले भने, “यतिबेला सफल, शान्तिपूर्ण र स्थिर युक्रेन निर्माणका लागि अवसर छ किनभने भर्खरै त्यहाँ राष्ट्रपतिको चुनाव भएको छ, युक्रेनको अहिलेको अवस्था बदल्न रुसले त्यहाँका नयाँ राष्ट्रपतिसँग सहकार्य गर्नुपर्छ।”

त्यसअघि ब्रसेल्समा भएको बैठकपछि राष्ट्रपति ओबामा र प्रधानमन्त्री क्यामरनले आफूहरु पोरोशान्कोको पक्षमा एक रहेको बताएका थिए।

अमेरिकी राष्ट्रपति ओबामा र रुसी राष्ट्रपतिबीच भेटघाटबारे सहमति नभएपछि फ्रान्सका राष्ट्रपति फ्रान्सँवा ओलन्दले दुवै नेताहरुसँग एकै साँझ छुट्टा छुट्टै रात्रिभोज गरेका थिए।

डी डे

शुक्रबार रुसी राष्ट्रपति नोरमेन्डीमा हुनेछन् जहाँ हुने डी डे समारोहमा युक्रेनका राष्ट्रपति निर्वाचित पेत्रो पोरोशान्कोले भाग लिनेछन्।

पुटीनले पोरोशान्कोसँगको भेटवार्तालाई हालसम्म अस्वीकार गरेका छैनन्।

उत्तरी फ्रान्समा हुने डीडेको समारोहमा भाग लिन दोस्रो विश्व युद्ध लडेका अवकाशप्राप्त सैनिकहरु समुन्द्री तटमा अवस्थित नोरमन्डी आइपुगेका छन्।

उक्त शहरमा दोस्रो विश्वयुद्धमा जर्मन सैनिकहरुहसँगको लडाँइका क्रममा फ्रान्स पक्षधर हजारौँ सैनिकहरुले ज्यान गुमाएका थिए।

सो समारोहमा ब्रीटेनकी महरानी एलिजावेथ, अमेरिकी राष्ट्रपति ओबामा र फ्रान्सका राष्ट्रपति ओलन्द सहितका विश्व नेताहरु सहभागी हुदैँछन्।