तरकारीमा विषादीको हानीकारक प्रयोग

  • 6 जुन 2014
Image caption तरकारीमा टिमुर, तितेपाती, सिस्नुलगायत प्रयोग गरेर विषादीको कम प्रयोग गर्न सकिन्छ

हामीले दैनिक उपभोग गर्ने प्राय: तरकारीहरु उत्पादन गर्दा खेतबारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको कृषिबालीको क्षेत्रमा कार्यरत सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

अनियन्त्रीत र विना पूर्ण जानकारी तरकारी बालीमा प्रयोग भैरहेको विषादीका कारण मानव शरिर र वातावरणमा नकारात्मक असर पारिरहेको ति अधिकारीहरुले भनाइ छ।

किसानहरुले किरा मार्ने सजिलो उपायको रुपमा लिंदै, तरकारीमा विषादी प्रयोग गरेर रोगबाट बचाउने उपयुक्त तौरतरिका नजान्दा जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम बढीरहेको उनीहरुले बताएका हुन्।

नेपालमा प्रत्येक वर्ष भित्रिने साढे तीन सय मेट्रिक टन विषादी मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्रै खपत हुने बाली संरक्षण निर्देशनालयको तथ्यांक छ।

त्यति धेरै विषादी तरकारीमा प्रयोग हुँदा त्यसले पुरुषको पोस्ट्रेट, महिलाको पाठेघर क्यान्सर, गर्भवति महिलाको गर्भ तुहिने र अन्य थुप्रै रोग लाग्ने गरेको अनुसन्धानले देखाएको बताइएको छ।

बाध्य

विशेषगरी एग्रोभेट भनिने कृषि सामग्री विक्रेताहरुले किसानलाई कुन तरकारीलाई कति विषादी प्रयोग गर्नुपर्ने भन्ने बुझाउन नसक्दा यस्तो समस्या बढ्दै गएको हुन सक्ने बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले बताए।

उनले भने, “एग्रोभेटहरुले किसानलाई विषादी दिँदा कुन तरकारीलाई कति मात्राको विषादि दिने र त्यसको प्रयोग कति समयको फरकमा दिनुपर्छ भनेर बुझाएको पाइएको छैन।”

केही वर्ष अघिको तुलनामा अहिले तरकारीमा किरा लाग्ने, फल सानो हुने र हेर्दा नराम्रो देखिने जस्ता समस्याले विषादीको बढी प्रयोग गर्न आफूहरु बाध्य भएको भक्तपुरका तरकारी कृषकहरुले बताएका छन्।

भक्तपुरको मनोहरा फाँटमा पुर्ख्यौली पेशाको रुपमा व्यवसायिक तरकारी खेती गर्दै आएका रुचीकुमार साहुखलकले विषादीको प्रयोग नगरे तरकारी नराम्रो देखिने हुनाले विषादीको प्रयोग गर्न बाध्य भएको बताए।

उनले भने, “बजारमा राम्रो तरकारी देखेमात्रै उपभोक्ताले किन्छन्, अनि विषादी नहाले त्यसले तरकारी नराम्रो देखिन्छ। किराले खान्छ, विषादी नहाली सुखै छैन।”

रोक

पछिल्लो समयमा बजारमा चलेका वर्णशंकर विउबिजनबाट उत्पादन बढी हुने भए पनि त्यसलाई रोग किराले बढी आक्रमण गर्ने गरेको त्यस्ता बीउ प्रयोगकर्ताहरुले गुनासो गर्ने गर्छन्।

त्यसको उपचारको लागि किसानहरुले विभिन्न रासायनिक मल र विषादी प्रयोग गर्न खोज्ने गरेको भक्तपुर कृषि सेवा केन्द्र झौखेलका प्रमुख मणिराम दवाडीले बताए।

उनले भने, “किसानहरुले धेरै उत्पादन हुने बाली लगाउँदा विषादीको प्रयोग बढी गर्नुपर्ने हुन सक्छ। किसानहरु औषधि हालेको भन्नुहुन्छ तर त्यो विषादी हो त्यसलाई अन्तिम अवस्थामा मात्रै प्रयोग गर्नुपर्छ।”

विशेषगरी बेमौसममा पनि फलाउन सकिने गोलभेंडा, भ्यान्टा, काउली, फर्सी र रायोको सागमा विषादीको प्रयोग बढी गरिने किसानहरुले बताएका छन्।

विषादीको असरबाट बच्न उपभोक्ताहरुले तरकारी किन्दा कम औषधी प्रयोग हुने तरकारीहरु जस्तै इस्कुस, चम्सुरको साग, हरियो बोडी र मौसम अनुसारका तरकारी खानुपर्ने कृषि विज्ञहरुले बताएका छन्।