'सदनको अवरोध खुल्ने'

  • 7 जुन 2014
तस्वीर कपीराइट Nepal PMO
Image caption संसदमा जारी अवरोध हटने वा नहटने कुरा तीन दलबीच हुने सहमतिमा निर्भर गर्ने बताइन्छ

केही दिन यता अवरुद्ध संसद खुलाउने विषयमा सहमति नजिक पुगेको प्रमुख तीन दलका नेताहरुले बताएका छन्।

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा राजनीतिक समिति गठन गर्ने विषयमा पनि लगभग सहमति भएको नेपाली कांग्रेसका एक जना नेताले बताए।

उक्त समितिको स्वरुप तथा नेतृत्व लगायतको विषयमा भने सहमति हुन बाँकी रहेको जनाइएको छ।

चीन भ्रमणबाट फर्केको भोलिपल्ट प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक डाकेका थिए।

समिति

बैठकमा सहभागी नेताहरुका अनुसार प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगायतका विपक्षीहरुले गर्दै आएको सदन अवरोध, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायत विषयमा छलफल भएको थियो।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच भएको चार बुँदे समझदारीमा उल्लेख गरिएको राजनीतिक समिति गठन गर्नेबारे सहमति नजिक पुगेको बताए।

उनले भने, ''संक्रमणकालका कुराहरुमा राजनीतिक समिति बनाउने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ। त्यसको आईतबार टुंगो लगाउने कुरा भएको छ। त्यसलाई उच्चस्तरीय संयन्त्र नभन्ने कुरा भएको छ।''

पौडेलका अनुसार उक्त समितिलाई राजनीति प्रकृतिका विवादहरुलाई टुंगो लगाउने जिम्मेवारी दिइनेछ।

वार्ता

त्यस्तै रकमान्तरका विषयमा सम्बन्धित मन्त्रीले सदनलाई जानकारी गराउने सहमति भएको बताइएको छ।

त्यसबाहेक संविधानसभा निर्वाचन र संविधान निर्माण प्रक्रियाबाट टाढै रहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग वार्ता गर्ने सहमति भएको पनि पौडेलले बताए।

उनले थपे, ''तीन दल र मोहन वैद्यजीको दलको बैठक सोमबार बसेर संविधानको विषयमा पनि राष्ट्रिय सहमति जुटाउने मोटामोटी कुरा भएको छ।''

प्रतिपक्षीहरुको अवरोधका कारण आगामी बजेटबारे संसदमा छलफल शुरु हुन सकेको छैन भने कतिपय महत्वपूर्ण विधेयकहरुले पनि सदनमा प्रवेश गर्न नपाएको बताइन्छ।