'युक्रेन रुसबीच वार्ताको सुरुवात'

  • 7 जुन 2014
तस्वीर कपीराइट
Image caption युक्रेनमा नयाँ राष्ट्रपति निर्वाचित भएपछि दुई नेताबिच पहिलो पटक कुराकानी भएको हो

युक्रेनका राष्ट्रपति निर्वाचित पेट्रो पोरोशेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग भएको छलफल पूर्वी युक्रेनमा जारी संकट समाधानको सुरुवात भएको बताएका छन्।

राष्ट्रपति पुटीनले युद्धविराम गर्न प्रस्ताव राख्दै युरोपेली संघसँग कुनै आर्थिक सम्झौता नगर्न युक्रेनलाई सचेत गराएको बताइएको छ।

शनिबार पदको सपथ ग्रहण गर्न लागेका पोरोशेन्को र पुटीनबीच फ्रान्समा भएको भेटलाई निक्कै महत्वका साथ हेरिएको छ।

मौका

फ्रान्सको नरमेन्डीमा दोस्रो विश्वयुद्धका क्रममा जर्मनीको विपक्षमा लडेका गठबन्धनका सैनिकहरुको सम्मानमा आयोजित डि डे समारोहको ७०औँ बार्षिकोत्सव कार्यक्रमले मस्को र किएभका नेताहरु बिच भेटघाटको मौका जुराएको थियो।

जर्मन च्यान्सलर एंङगेला मर्कलको उपस्थितिमा राष्ट्रपति पुटीन र पोरोशेन्कोबीच भएको कुराकानी पन्ध्र मिनेटसम्म चलेको थियो।

उक्त छलफल तनावपूर्ण भएपनि युक्रेन संकट समाधान गर्ने वार्ताको सुरुवात भएको पोरोशेन्कोले सम्वाददाताहरुलाई बताएका छन्।

उनले मस्कोले आफूलाई चाँडै मान्यता दिने विश्वास व्यक्त गर्दै दुवै पक्षबीचको वार्ता आइतवार सुरु हुने बताएका छन्।

दुइ नेता बीचको छलफलमा युक्रेनी सेना र रुस समर्थक पृथकतावादीहरुबीच सम्भावित युद्धविराम गर्नेबारे कुराकानी भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन्।

महत्वपूर्ण

रुसी राष्ट्रपति पुटीनले रक्तपात अन्त्य हुनुपर्ने पोरोशेन्कोको अवधारणा आफूलाई मन परेको तर उनको भनाई र गराई हेर्न बाँकि रहेको बताएका छन्।

राष्ट्रपति पुटीनले भन्छन्, “उनले भने जस्तै काम गरे भने दुई देशबीचको सम्बन्ध थप विस्तार गर्न सकिन्छ।”

अमेरीकी राष्ट्रपति ओबामाले पनि पुटीनसँग छुट्टै भेटवार्ता गरेर पूर्वी युक्रेनमा जारी तनाव कम गर्न मस्कोले पहल गर्नुपर्ने बताएका छन्।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलांदले पछिल्ला छलफलले युक्रेन तनाव कम गरे सन् २०१४ को जुन ६ लाई महत्वपूर्ण दिनको रुपमा सम्झना गरिने बताएका छन्।

बीबीसीका कुटनीतिक सम्वाददाता जेम्स रोबिन्स भन्छन्, युद्धविराम सम्बन्धी सहमती कायम गर्न कठिन हुनसक्ने भएपनि राष्ट्रपति पुटीनले युक्रेनका नयाँ राष्ट्रपतिलाई भेटेर उनको वैधानिक्ता स्वीकार गर्नुलाई महत्वपूर्ण ठानिएको छ।