जनरल सिसि इजिप्टका नयाँ राष्ट्रपति

  • 8 जुन 2014
मुस्लिम ब्रदरहुडका सदस्यहरु तस्वीर कपीराइट AP
Image caption इजिप्टमा मुस्लिम ब्रदरहुडका हजारौं सदस्यहरुलाई बन्दी बनाइएको छ

कायरोस्थित सर्वोच्च संवैधानिक अदालतमा आयोजित एक समारोहमा अब्देल फतह अल सिसिलाई इजिप्टको नयाँ राष्ट्रपतिको रुपमा शपथ दिलाइएको छ।

विपक्षी समूहहरुले बहिष्कार गरेको गत महिनाको चुनावमा इजिप्टको सेनाका भूतपूर्व प्रमुख अल सिसिले सन्तान्नब्बे प्रतिशत मत प्राप्त गरेका थिए।

तर पचास प्रतिशत भन्दा कम मतदान भएको थियो।

एउटा भव्य समारोहमा राष्ट्रिय गान र कुरान पाठ गरिएपछि राष्ट्रपति सिसिले शपथ लिएका थिए।

उनले देशको कानुनको सम्मान गर्ने र जनताको हितको रक्षा गर्ने वाचा गरेका छन्।

समारोह

राष्ट्रपति भवनमा आयोजित समारोहमा संसारभरिका नेताहरु सहभागी भएका थिए।

सुरक्षा दलहरुलाई राजधानीका महत्वपूर्ण ठाउँहरुमा तैनाथ गरिएको थियो।

इजिप्टको सेनामा फिल्ड मार्शलको उच्च पदबाट हालै सेवा निवृत्त भएका जनरल सिसिले गत वर्ष जुलाई महिनामा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेका थिए। त्यसपछि उनले मोर्सीको मुस्लिम ब्रदरहुड संगठनलाई लगातार निशाना बनाउँदै आएका छन्।

५९ बर्षीय सिसिले चार बर्षकालागि राष्ट्रपति पदको शपथ लिएको समारोहको टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

अन्तरिम राष्ट्रपति एडलि मन्सुर सर्वोच्च संवैधानिक अदालतको प्रधान न्यायाधीशको पदमा फर्केका छन्।

नतिजा

आधिकारिक नतिजा अनुसार गत महिना भएको चुनावमा जनरल सिसिले झण्डै ९७ प्रतिशत मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी वामपन्थी नेता हमदिन सवाहीले केवल तीन प्रतिशत मत ल्याएका थिए।

मुस्लिम ब्रदरहुडले बहिष्कार गरेको सो चुनावमा पचास प्रतिशत भन्दा कम मतदान भएको थियो। उनका समर्थकहरु उनको जीतको खुसियाली मनाउन तहरिर स्क्वायरमा भेला भैरहेका छन्।

हाम्री संवाददाता भन्छिन्, जनरल सिसिले एउटा विभाजित र थकित मुलुकको नेतृत्व गरिरहेका छन्।

इजिप्टमा हालैका हिंसाहरुमा चौध सय भन्दा बढीको ज्यान गएको थियो भने अल जजिरा टेलिभिजन च्यानलका पत्रकारहरु सहित झण्डै सोह्र हजार मानिसहरुलाई बन्दी बनाइएको छ।

ती मध्ये अधिकांश मुस्लिम ब्रदरहुड संगठनका नेता तथा कार्यकर्ताहरु छन्।

गरीबी

अहिले पनि इजिप्टका एक चौथाइ भन्दा बढी जनता गरीबीको रेखा मुनि बाँची रहेका छन्।

जनरल सिसिले अर्थतन्त्रलाई मजबुत पार्ने, रोजगारी सिर्जना गर्ने तथा शान्ति सुरक्षा सुदृढ पार्ने वाचा गरेका छन्।

तर आलोचकहरु उनको सरकारले कुनै पनि खाले विरोधप्रति कत्तिपनि सहिष्णुता नदेखाउने आशँका गर्दछन्।