राजनीतिक समितिको नेतृत्वबारे विवाद

  • 8 जुन 2014
Image caption प्रमुख तीन दलहरुबीच जारी विवादले संविधान निर्माण प्रक्रियालाई पनि वाधा पु-याउने बताइन्छ

राजनीतिक समिति बनाउन सहमत भएको एक दिन नबित्दै प्रमुख दलहरुबीच त्यसको नेतृत्व र बनावटबारे तीव्र विवाद देखिएको छ।

एकीकृत माओवादीले उक्त समितिको नेतृत्व स्थायी रुपमा आफुले पाउनुपर्ने र तराई केन्द्रित दलहरुलाई पनि समितिमा समेट्नुपर्ने अडान राखेको छ।

त्यसमा नेपाली कांग्रेस केही लचिलो जस्तो देखिएपनि अर्को सत्तारुढ प्रमुख घटक एमालेले भने विमति जनाएको बताइएको छ।

शनिबार सहमति नजिक पुगेको र आईतबार त्यसलाई औपचारिकता दिने बताएका दलहरुले वाचा पुरा गर्न नसकेपछि संसदमा जारी गतिरोध आईतबार पनि फुक्न सकेन।

नेतृत्व

शनिबार भएको छलफलमा राजनीतिक समिति गठन गर्नका लागि सहमति नजिक पुगेको भन्दै प्रमुख तीन दलका नेताहरुले आईतबार बस्ने बैठकबाट त्यसको नेतृत्वबारे टुंगो लगाउने बताएका थिए।

तर आईतबार बसेको बैठकमा समितिको स्वरुप र नेतृत्वबारे दलहरुबीच खास गरी एकीकृत माओवादी र एमालेबीच तीव्र मतभेद देखियो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समितिको नेतृत्व आलोपालो गर्न उपयुक्त हुने धारणा राखे।

एकीकृत माओवादीका नेताहरुले भने पार्टी अध्यक्ष प्रचण्डले समितिको स्थायी रुपमा नेतृत्व गर्न पाउनुपर्ने माग गरेका छन्।

बैठकमा सहभागी एकीकृत माओवादीका नेता गिरिराजमणि पोख्रेलले भने, ''चक्रीय प्रणालीभन्दा यसलाई व्यवस्थित ढंगले नेतृत्व गर्न दिंदा राम्रो हुन्छ। प्रचण्डको नेतृत्वमा संविधानसभा बाहिर रहेका अरु दललाई पनि लिएर जाऔं भन्ने हाम्रो चाहना हो।''

आलोपालो

समितिको संयोजकत्व बाहेक त्यसमा सहभागी हुने दलबारे एमालेले फरक धारणा राखेको पोख्रेलले बताए।

एकीकृत माओवादीले समितिमा तराई केन्द्रित दलहरुलाई पनि सहभागी गराउनुपर्ने धारणा राखे पनि एमालेले हाललाई तीन दल सम्मिलित समिति गठन गर्नुपर्ने अडान लिएको बताइएको छ।

यसमा काँग्रेस भने केही लचिलो जस्तो देखिएको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले समितिको नेतृत्व चक्रीय प्रणाली वा कुन रुपमा गर्ने विषयमा एउटै धारणा बन्न नसकेको बताए।

उनले भने, ''त्यसको बनोटबारे सहमति हुन सकेको छैन। पहिलाको संयन्त्र जस्तो आलोपालो प्रणालीमा जाँदा उपयुक्त हुने धारणा पनि आएको छ। त्यसबारे छलफल जारी छ।''

सत्तारुढ र विपक्षी दलहरुबीच सहमति हुन नसक्दा संसदको बैठक आईतबार लगातार पाँचौ पटक अवरुद्ध भएको छ।

आईतबार पनि विपक्षीहरुले अवरोध गरेपछि संसदको बैठक सोमबार दिउँसो तीन बजेका लागि डाकिएको छ।