चट्याङका कारण हुने क्षतिमा वृद्धि

  • 9 जुन 2014
तस्वीर कपीराइट .
Image caption गृहमन्त्रालयले चट्याङमा भएको क्षतीको विवरणहरु संकलन गर्ने गरेको छ

बैशाख यता चट्याङका कारण कम्तीमा ५० जनाले ज्यान गुमाएको र १ सय १५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

सरकारका अनुसार यस बर्षको पहिलो दुई महिनामा चट्याङका कारण भएको मानवीय क्षति अघिल्लो बर्षको यही समयमा भएको भन्दा बढी हो।

पर्याप्त अध्ययन अनुसन्धान नभएका कारण चट्याङबाट हुने क्षति न्युनिकरणका लागी प्रभावकारी कदम चाल्न नसकिएको सम्बद्ध निकायको भनाई छ।

हताहत

बाढी, पहिरो, आगलागी तथा चट्याङका कारण पोहोर साल झण्डै पाँच सय जनाको मृत्यु भएको तथ्यांक छ।

त्यसमध्ये २२ प्रतिशत अर्थात १११ जनाले चट्याङका कारण ज्यान गुमाएको गृह मन्त्रालय मातहतको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ।

पोहोर बाढीका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो।

यो वर्ष पनि वैशाख र जेठमा चट्याङ्बाट ज्यान गुमाउनेको संख्या हेर्ने हो भने गत वर्ष यसै अवधिको तुलानामा भन्दा बढी देखिएको विपद व्यवस्थापन महाशाखाका सहसचिव लक्ष्मी ढकालले बताए।

उनले भने, “बैशाख १ गतेदेखि जेठ २५ गतेसम्मको आँकडा हेर्दा चट्याङ लागेर ५१ जनाको मृत्यु भएको छ भने एक सय १५ जना मानिसहरु घाइते भएका छन्, अघिल्लो वर्ष यस अवधिमा ४७ जनाको मृत्यु भएको थियो भने एकसय ११ जना घाइते भएका थिए।”

अन्यौल

चट्याङबाट ज्यान गुमाउने तथा घाइते हुनेको संख्या वर्षेनि बढ्दै गर्दा समेत क्षति न्यूनिकरणका लागि सरकारले पर्याप्त कदम चाल्न नसकेको कतिपयले गुनासो गर्ने गरेका छन्।

गृह मन्त्रालयका सहसचिव ढकालका अनुसार पर्याप्त अध्ययन नहुँदा न्यूनिकरणको लागी धेरै कदमहरु चाल्न नसकिएको हो।

उनी भन्छन्, “अग्ला अग्ला पहाड भएको हुनाले नेपाललाई चट्याङ पर्ने मुलुककै रुपमा लिइन्छ, यसबाट बच्नको लागि विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएका हुन् तर अरु कुनै कामहरु चाहिं भएको छैन।”

भुईचालो, बाढी-पहिरो लगायतका प्रकोपबाट बच्ने र क्षति न्यूनिकरणका लागि सरकार र संघसंस्थाहरुले विभिन्न उपायहरु गरिरहे पनि चट्याङको हकमा भने ठोस प्रयास भएको देखिदैंन।

यसका पछाडि, चट्याङ्बारे पर्याप्त अनुसन्धान र दक्ष जनशक्तिको अभाव प्रमुख कारण रहेको प्रकोप व्यवस्थापनका जानकारहरुको भनाई छ।