'टिक्रिट शहर लडाकुहरुको नियन्त्रणमा'

  • 11 जुन 2014
तस्वीर कपीराइट Reuters
Image caption इराकको मोसुल शहर विद्रोहीले नियन्त्रणमा लिएपछि सेनाले सवारी साधन समेत छोडेर भागेको बताइएको छ।

इराकको दोश्रो ठूलो शहर मोसुल पछि इस्लामवादी लडाकुहरुले सद्दाम हुसेनको गृहनगर टिक्रिट पनि आफ्नो नियन्त्रणमा लिएको इराकी सुरक्षा सूत्रहरुले जनाएका छन्।

टिक्रिट शहर भूतपूर्व इराकी नेता सद्दा हुसेनको गृहनगर पनि हो र यो राजधानी बगदाद भन्दा केवल डेढसय किलोमिटर उत्तरमा पर्दछ।

विभिन्न विवरणहरुमा आइएसआइएस लडाकुहरुले मोसुलमा रहेको टर्कीको वाणिज्यदूतको कार्यालयमा कब्जा जमाएको बताइएको छ।

बन्धक

टर्कीको प्रधानमन्त्रीको कार्यालयको एक सूत्रले महावाणिज्यदूत तथा सातजना केटाकेटी सहित अडचालिसजना कर्मचारीहरुलाई उनीहरुले बन्धक बनाएको तर उनीहरु सबै सकुशल रहेको बतायो।

उनीहरुलाई महावाणिज्यदूतावासबाट उग्रवादीहरुको एउटा अखाडामा लगिएको पनि उक्त सूत्रले बतायो।

इस्लामिक स्टेट अफ इराक तथा लेभन्त भनिने उग्रवादी संगठनहरुसंग आवद्ध लडाकुहरुले छिमेकी सलाहेद्दिन प्रान्तस्थित बाइजी नगरमा पनि हमला गरेको तर सुरक्षाकर्मीहरुले उनीहरुलाई लखेटी दिएको जनाइएको छ।

बाइजीमा इराककै सबैभन्दा ठूलो तेल प्रशोधन कारखाना रहेको छ।

संबोधन

टेलिभिजनबाट प्रसारित आफ्नो संबोधनमा प्रधानमन्त्री नुरी अल मलिकीले मोसुल शहरलाई पुन: नियन्त्रणमा लिन सरकारले हरसंभव प्रयास गर्ने बताए।

उनले आफ्नो चौकी छाडेर भाग्ने सुरक्षाकर्मीहरु विरुद्ध कारवाही गरिने चेतावनी पनि दिए।

उनले भने, "म नीनेभेका जनतालाई के भन्न चाहन्छु भने हामी यी मानिसहरुले चोह जस्तो गर्नछैनौं। यो राज्य, सेना, इराकका प्रत्येक जनता तपाईंहरुसंग छन्। लडाईं जतिसुकै लामो भएपनि हामी तपाईहरुलाई एक्लै छाडने छैनौं।"

अनुमान

यसैबीच अन्तर्राष्ट्रिय आप्रवसन संगठन (आइओएम) ले जिहादी लडाकुहरुले मोसुलमा कब्जा जमाएपछि सो शहर र वरिपरिका क्षेत्रबाट झण्डै पाँच लाख मानिसहरु तिनका घर छाडेर भागेको अनुमान गरेको छ।

आइओएमले मोसुलमा ठूलो संख्यामा गैरसैनिक हताहति भएको र घाइतेहरुलाई मस्जीदहरुमा राखेर उपचार गरिंदै रहेको पनि जनाएको छ।

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनका एकजना प्रवक्ताले महासचिव बान इराकको पछिल्लो स्थितिबाट अत्यन्त चिन्तित भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिका इराकमा उत्पन्न स्थितिबाट अत्यन्त गम्भीर भएको र त्यहाँ अतिक्रमणकारीहरुलाई पछि धकेल्न एउटा दरिलो, संयोजित कारवाहीको पक्षमा रहेको बताए।

हाम्रा संवाददाता भन्छन्, अनवर प्रान्तको शहर रमादी तथा नजीकै रहेको फल्लुजा शहरका धेरै भाग पनि गएको डिसेम्बर महिनादेखिनै आइएसआइएस उग्रवादीहरुको नियन्त्रणमा छन्।

तर सरकारले ती भूभागलाई पुन: आफ्नो नियन्त्रणमा लिन सकेको छैन।