ईराकमा संकटकाल घोषणा निर्णयमा ढिलाई

  • 12 जुन 2014
ईराकी प्रधानमन्त्री मलिकी तस्वीर कपीराइट Getty
Image caption ईराकी प्रधानमन्त्रीले विद्रोहीहरुसंग जुनसुकै मूल्य चुकाएरपन‌ि लड्ने जनाएका छन्

ईस्लामवादी विद्रोहीहरुले लडाईं चर्काउंदै गर्दा ईराकको संसद संकटकाल घोषणाबारे कुनै निर्णय लिन विफल भएको छ।

प्रधानमन्त्री नुरी अल मलिकीको अनुरोधमा संकटकाल घोषणाबारे निर्णय गर्न बोलाईएको संसदमा ३२५ मध्ये केवल १२८ सांसद उपस्थित भएपछि कुनै निर्णय हुन सकेन।

बीबीसी सम्वाददाता भन्छन् यसले ईराकी राजनीत‌ि कत‌ि विभाजित छ भन्ने देखाएको छ।

यसबीच अल कायदा सम्बध्द आईएसआईएस विद्रोही समूहले आफुहरु अब राजधानी बग्दादतर्फ लम्कने बताएका छन्। यसअघि उनीहरुले मोसुल कब्जामा लिए भने टिक्रीटमापन‌ि नियन्त्रण कायम गरेका छन्।

प्रधानमन्त्री मलिकीले विद्रोहीहरुसंग लड्न छिट्टै आफ्ना सेना ती क्षेत्रमा पुग्ने बताएका छन्।

‘हामी यो स्थ‌ितिसंग जुध्दै छौं। जस्तोसुकै मूल्य चुकाउनु परेपनि यसलाई हामी त्यत्तिकै छाड्नेवाला छैनौं। हामी तयार हुंदै छौं,’ ईराकी प्रधानमन्त्रीको भनाई।

राष्ट्रीय सेना भागेपछि तेलले सम्पन्न किर्कुक प्रान्तलाई नियन्त्रणमा लिन कर्दिश सेना अघि सरेको छ।

सुन्नी मुसलमान विद्रोहीहरुको लडाईंलाई थप अघि बढ्नबाट रोक्न कुर्दीस लडाकूहरुले सक्षमता देखाएपनि उनीहरु स्वयंको बग्दादसंग खासगरी किर्कुकलाई लिएर वर्षौंदेखि चर्को विवाद रहंदै आएको छ। उनीहरुले सो शहर आफु मातहतकै स्वसाशित क्षेत्रमा आउनुपर्ने बताउंदै आएका छन्।

उता ईस्लामिक स्टेट ईन ईराक एन्ड लेभान्त आईएसआईएस भनिने विद्रोहीहरु चाहीं थप दक्षिणतर्फ अघि बढ्दै राजधानी बग्दाद तिर लम्कन लागेको ठानिएको छ।

शरणार्थी

ईराकको स्वशाशित क्षेत्र कुर्दिस्तानका अधिकारीहरुले उत्तरी ईराकमा चर्किएको द्वन्द्वबाट भागेर आएका शरणार्थीहरुलाई मद्दतका निम्ति अन्तर्राष्ट्रीय सहयोगको अपील गरेका छन्।

ब्रीटेनमा रहेका एक कुर्दिस प्रतिनिधिले शरणार्थीहरुका निम्ति शिविरहरु बनाउन लाग‌िएको तर त्यहां पहिलेदेखिनै करिब अढाई लाख सिरियाली शरणार्थीहरु रहिरहेकाले मद्दतको आवश्यकता टडकारो भएको बताए।

यसबीच ईराकमा ईस्लामवादी विद्रोहीहरुको बढ्दो हमलाले सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको अतिक्रमणको कारवाही पूर्ण विफल हुन पुगेको देखाएको रुसी विदेशमन्त्रीले जनाएका छन्।

टर्कीले भनेको छ ईराकी शहर मोसुलमा आईएसआईएस समूह द्वारा बन्दी बनाईएका उसका अड्चालिस नागरिकहरुलाई मुक्त पार्न उसले भरमग्दुर कोशिश गर्दैछ।

बुधबार सो समूहले मोसुलमा रहेको टर्कीको महावाणिज्यदूतावास कब्जामा लिएको थियो। तिनलाई कुनै हानी पुगे आफुहरुले बदला लिने टर्कीका विदेश मन्त्री अहमेत डाभुटोग्लुले चेतावनी दिएका छन्। उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य समेत रहेको टर्कीका नागरिकहरुलाई सुरक्षित फिर्ता गराउन मद्दत गर्ने अमेरिकी उपराष्ट्रपति जो बाईडेनले बताएका छन्।

ईराकलाई थप सहयोग दिने बारे सोचविचार भईरहेको वाशिंगटनले जनाएको छ। राष्ट्रसंघको सुरक्षा परिषदले मोसुल र टिक्रीटमा गरिएका हमलाको भर्त्सर्ना गरेको छ।

बुधबार सरकारी फौजले बग्दादभन्दा केवल ११० किलोमिटर दक्षिणमा रहेको समारा शहरबाहिर विद्रोहीहरुसंग लडी तिनलाई केही पछि धकेलेको थियो।